Logo

उम्मेदवारविरुद्ध आज उजुरीको अवसर, माघ ९ मा नाम फिर्ता र निर्वाचन चिन्ह वितरण



काठमाडौं, ७ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष प्रणालीतर्फ उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले तोकेको निर्वाचन कार्यक्रमअनुसार मनोनयन पत्र दर्ता भइसकेका उम्मेदवारको योग्यतामाथि आपत्ति भए उजुरी दिन सकिने जनाइएको छ।

आयोगका अनुसार प्राप्त उजुरी तथा मनोनयन पत्रको जाँचबुझ गरी माघ ८ गते बेलुका ५ बजेसम्म आवश्यक निर्णयसहित उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

त्यसपछि माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली सार्वजनिक गरिनेछ भने दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।

निर्वाचन आयोगका अनुसार मनोनयन दर्ता प्रक्रिया देशभर मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। हालसम्म कुल दुई हजार ९२५ जनाले प्रत्यक्ष प्रणालीतर्फ उम्मेदवारी दर्ता गराएका छन्।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयन प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सहयोग गर्ने राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला सबैलाई धन्यवाद व्यक्त गरेका छन्। उनले बाँकी निर्वाचन कार्यक्रम पनि सहकार्य र मर्यादाका साथ अघि बढ्ने अपेक्षा व्यक्त गरेका छन्।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार दर्ता भएका उम्मेदवारमध्ये ३३६ जना महिला र २,५८९ जना पुरुष रहेका छन्। यस्तै, अपाङ्गता भएका ८५ जना र पिछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

आयोगले निर्वाचन प्रक्रिया पारदर्शी र समावेशी बनाउने लक्ष्यसहित सबै चरणहरू समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्