
उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बुधबार उर्लाबारी चोकमा दर्जानौं सर्वसाधारणमाथि लाठी वर्षाए । मेयर फागोले पैदल यात्री, साइकल, मोटरसाइकल, अटो र कारमा आएका व्यक्तिलाई लाठैलाठाले हाने । त्यसरी यात्रा गर्नेले म किन र कहाँ जाँदैछु ? भन्ने प्रतिक्रिया व्यक्त गर्न नपाई लाठी खाए ।
नगर प्रहरी र नेपाल प्रहरीले हप्कीदप्की गरेर पठाएका मानिसलाई मेयर फागोले लखेटीलखेटी लाठी वर्षाए । प्रहरीको लाठी खोसेर श्रमिक र सामान्य मानिसलाई लाठी वर्षाएर उनले बहादुरीको भद्दा नमुना प्रदर्शन गरे । उर्लाबारी चोकमा बुधबार मेयरको गुण्डाशैलीका अघि नेपाल प्रहरी र नगर प्रहरी फिक्का सावित भए । त्यो लाठी वर्षाइ हेर्दा लाग्थ्यो उनी उर्लाबारी नगरपालिकाका मेयर हुन् कि कुनै टोलका गुण्डा वा डन ।
मेयर फागोलाई लागेको हुन सक्छ– कोरोना संक्रमणका विरुद्ध मैले वर्षाएको लाठी ठिक छ, कानून सम्मत छ । सडकमा हिँड्ने सबैले कानूनको बर्खिलाप गरेका छन् । ‘म नै कानूनको पालक हूँ’ भन्ने ठूलै भ्रम र भ्रान्ति भएको हुन सक्छ । यस्तो भ्रम र भ्रान्ति कुनै बेला राजा ज्ञानेन्द्रमा पनि थियो । देश र जनताको म नै सच्चा सेवक हुँ भन्ने ज्ञानेन्द्रको भ्रमले राजतन्त्रको अवसान भयो । मेयर फागोको अराजक, उदण्ड र गुण्डाशैली जनप्रतिनिधिको चरित्र र व्यवहार हुन सक्दैन ।
कोरोना भाइरसको संक्रमण विश्वव्यापी समस्याको रुपमा फैलिएको छ । सरकारले त्यसलाई फैलन नदिन लकडाउन गरेको हो । नागरिकको यसमा विमती पनि छैन । लकडाउनको न कुनै राजनीतिक दल वा कुनै व्यक्तिले बिरोध नै गरेका छन् । सबैको सहमतिमा सरकारले लकडाउन घोषणा गरेको हो ।
नागरिक सडकमा आइहाले भने त्यसको बदला कुटपिट हुन सक्तैन । नागरिकले कोरोना भाइरस र लकडाउनका सन्दर्भमा पर्याप्त बुझिसकेका छैनन् । लकडाउन नेपाली शब्द पनि होइन । यो अंग्रेजी शब्द हो र यसको नेपाली शब्द नै छैन । यसले पनि नागरिकको बुझाईमा केही समस्या हुन सक्छ ।
त्यसमा पनि सरकारको लकडाउन घोषणा आकस्मिक थियो । सरकारले लगडाउनमा नागरिकलाई घरमै बस्नु भनेर आग्रह गरेको हो । कर्पm्यूलगाएको होइन । लकडाउनको प्रयोग र अभ्यास नेपालमा पहिलो पटक भएको हो । सरकारले के गर्न हुन्छ, के गर्न हुँदैन भनेर नागरिकलाई बुझाइसकेको थिएन ।
लकडाउन घोषणा हुँदा कयौँ मानिस आउँदा आउँदै बीच बाटैमा अलपत्र परेका छन् । कोही बेखर्ची भएका छन् । यस्ता मानिस गन्तव्यमा गएका हुन सक्छन् । हुनसक्छ कोही घुम्न, त कोही समाइलो गर्न पनि हिँडेका हुन सक्छन् । तर, तिनलाई कारवाही गर्ने निकाय प्रशासन हो । नगर प्रमुख होयनन् । मेयर फागोको लाठी वर्षाइ गैरजिम्मेवार मात्र छैन, कानूनी कारवाहीको दायराभित्र पर्ने विषय हो ।
चीनमा पनि सरकारले लकडाउन गर्यो । त्यहाँ गम्भीर समस्या भएकाले नागरिकले पूरापुर साथ दिए । श्रीलंका लगायतका कतिपय देशमा लकडाउनले काम नगरेपछि कफर््यू लगाइयो । लकडाउनको अर्थ कफर््यू होइन । यो नागरिकको सहमतिमा गरिने काम हो । लकडाउनले काम गरेन भने सरकारले कफर््यू लगाउन सक्छ । तर, नागरिकको ढाँड भाँचिने गरी कुटपिट र यातना दिन सकिँदैन ।
हो, नागरिकले कफर््यू बुझेका छन् । नागरिकले अटेरी गरेजस्तो लाग्छ भने उर्लाबारीका मेयर सा’बले सुरक्षा निकायसँग समन्वय गरेर कफर््यू लागाए हुन्छ । कफर््यूमा नागरिकले बाहिर निस्कन पाइँदैन भनेर बुझेका छन् । कफर््यू आदेश उल्लंघन गर्दा गोली खान सकिन्छ भन्ने पनि नागरिकलाई थाहा छ ।

अर्कातर्फ फागो सच्चा जनप्रतिनिधि हुन्थे भने अप्ठ्यारोमा परेका नागरिकलाई गन्तव्यमा पुर्याउने वा कुनै सुरक्षित स्थानमा राख्ने काम गर्न सक्थे । कतिपय नागरिकले लकडाउनलाई नेपाल बन्दको अर्थमा पनि बुझेका छन् । बन्दमा जस्तै पाँच बजेपछि सवारीसाधन चलाउन र हिँड्डुल गर्न पाइन्छ भन्ने लागेको हुन सक्छ । मानिसले लकडाउनको अर्थ राम्ररी बुझ्न नसक्दा समस्या भएको छ । पहिलो भोगाई भएकाले कतिपयले हिँड्नु हुन्छ वा हुँदैन भन्ने भेउ नै पाएनन् ।
सुनसरीको खनारमा प्रहरीले साइकल यात्रा गर्ने दुई युवालाई लाठी हानेको विषय आलोच्य भयो । प्रहरी प्रधान कार्यालयले यसको छानविन गरेर विभागीय कारबाही गर्ने प्रतिक्रिया दियो । प्रहरी जवानले लाठी हान्दा कारबाही हुने तर मेयरले लाठी हान्दा कारबाही नहुने हुन्छ ? लकडाउन कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी सुरक्षा निकायको हो । त्यसमा नागरिक र जनप्रतिनिधिले साथ दिने हो । अटेरी गर्नेलाई कानून अनुसार कारबाही गर्ने हो तर सडकमा नागरिक हिँडे भन्दैमा मेयरले कानून हातमा लिएर लाठी वर्षाउने अधिकार कहाँबाट पाए ?
प्रहरी जवाले लाठी हान्दा कारबाही भोग्नु पर्ने, मेयरले हान्दा वाहवाह हुनु पर्ने न्यायसंगत हुन सक्तैन । इनरुवामा दुई युवामाथि लाठी हान्ने प्रहरी र उर्लाबारीका मेयर फागोलाई कानूनी कारबाही हुनु पर्छ । जनप्रतिनिधिलाई अराजक बन्न पाउने अधिकार हुँदैन । कतिपय सञ्चारमाध्यमले मेयरले ठिक गरे भन्ने आशयले समाचार सम्प्रेषण गरेका छन् । मेयरको हर्कतलाई सञ्चारमाध्यमले कुनै अर्थमा पनि सही ठहर गर्न सक्तैन । नागरिक समाजका अगुवा र अधिकारकर्मीले पनि मेयरको कुटाइ ठिकै हो भन्नु आफैँप्रतिको बेइमानी हो ।
सडकमा लाठी वर्षाउँदै हिँड्ने मेयर फागोको कार्य नैतिक र सामाजिक दृष्टिकोणले मात्र होइन, कानूनी दृष्टिकोणबाट पनि अनुचित भएकाले कानूनी कारबाही हुनुपर्छ । होइन भने समाजमा ठूलालाई चैन, सानालाई ऐन हुन्छ । गणतन्त्रमा नागरिक समान हुन्छन् भन्ने नारा खोक्रो सावित हुनेछ ।
हेर्नुहोस् भिडियो
(पूर्वी नेपाल टिभीको दृष्य साभार)