
काठमाडौं, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक रहेको वताउनुभएको छ । उहाले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको समेत औल्याउनुभयो ।
आइतबारको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उहाले यस्तो बताउनुभएको हो।
उहाले अर्थमन्त्री र मन्त्रीहरूले आफ्ना कार्यकर्ता र आफ्नो क्षेत्रलाई खुसी बनाउने गरी बजेट ल्याएको समेत बताउनुभयो । उहाले मन्त्री भएर बजेट छुट्टाउने पाउने मौकाको सदुपयोग गर्न मन्त्रीहरू चुकेको बताउनुभयो ।
उहाले ऊर्जा क्षेत्रले नेपालको भविष्य बदल्न सक्ने भएकाले सामान्य हिसाबले खर्च भाग लगाएर र नियमित कार्यक्रमले मात्रै उपलब्धि हासिल गर्न नसकिने बताउनुभयो । उहाले ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक रहेको समेत बताउनुभयो । उहाले बजेटप्रति असहमति व्यक्त गर्न मात्रै आफूहरू बजेटमाथिको छलफलमा भाग लिइरहेको बताउनुभयो ।
अध्यक्ष लिङ्देनले सन्तुलन मिलाउन नसक्दा अहिले लोड सेडिङ भइरहेको बताउनुभयो । उहाले विदेशीको हातमा आयोजना राख्न दिनेभन्दा पनि आफ्नै लगानीबाट नेपालमा ऊर्जाको उत्पादन गर्न आवश्यक रहेका बताउनुभयो ।







