काठमाडौँ, १८ साउन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिद मूल्यमा सामान्य गिरावट आएको भए पनि ऋण तिर्नुपर्ने दायित्व बाँकी रहेकाले मूल्य समायोजन नहुने प्रष्ट पारेको छ ।
निगमले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोल, मट्टितेल र हवाई इन्धनमा सामान्य नाफा भए पनि नेपाल सरकारबाट लिएको ऋण र इन्डियन आयल कर्पोरेशन (आइओसी)लाई बक्यौता भुक्तानी गर्नुपर्ने भएकाले मूल्य समायोजन नहुने जनाएको हो ।
आइओसीबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ७८ पैसा नाफा तथा डिजेलमा प्रतिलिटर नौ रुपैयाँ ३७ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर चार सय ९९ रुपैयाँ ५७ पैसा घाटा रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले जानकारी दिए । निगमलाई मट्टितेल र हवाई इन्धनमा भने यसअघि नै नाफा रहेको छ ।
पेट्रोलियम पदार्थको बिक्रीबाट मासिक रु एक अर्ब २७ करोड घाटा हुने निगमको प्रक्षेपण छ । सरकारसँग लिइएको ऋण, आइओसीलाई तिर्नुपर्ने बक्यौता तथा मासिक एक अर्ब बढी घाटा भएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत नै राख्नुपरेको उनले बताए ।







