Logo

‘एअर हाेस्टेस’ काे दाँत भाँच्ने महिलालाई १५ महिना जेल सजाय



काठमाडौँ, १६ जेष्ठ । साउथवेस्ट एअरलाइन्सकी परिचारिका (एअर होस्टेस)लाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ ।

सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६ हजार डलर क्षतिपूर्ति र सात हजार पाँच सय डलर जरिबाना तिर्न आदेश दिएका छन् ।

न्यायाधीश टोड डब्ल्यू रोबिन्सनले क्विनोनेजलाई व्यावसायिक विमानमा तीन वर्षसम्म उडान गर्न निषेध गरेका छन् भने उनले क्रोध व्यवस्थापन कक्षा वा परामर्शमा भाग लिनुपर्ने आदेश पनि दिएका छन् ।

गएको वर्ष मार्च २३ मा साउथवेस्ट एअरलाइन्सको विमानमा सेक्रेमेन्टोबाट सान डिएगो जाने क्रममा क्विनोनेजले एक जना परिचारिलाई बारम्बार मुक्का प्रहार गरी उनको अनुहार रगताम्य पार्नुका साथै तीन वटा दाँत भाँचिदिएकी थिइन् । आक्रमणको भिडियो सामाजिक सञ्जालमा व्यापक भएको थियो ।

विमान परिचारकाहरूलाई धकेल्ने, प्रहार गर्ने र चिच्याउने यात्रीहरूले अनियन्त्रित र हिंसात्मक व्यवहारको वृद्धिको बीचमा त्यो आक्रमण भएको थियो । देशका दुई प्रमुख अमेरिकन एअरलाइन्स र साउथवेस्ट एअरलाइन्सले यात्रीका दुर्व्यवहार रोक्ने प्रयासमा उडानका बेला रक्सीको बिक्री बन्द गरेका थिए । अहिले दुवै एअरलाइन्सले रक्सीको बिक्री फेरि सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्