Logo

एउटै कार्यालयमा ६ सय करार र ज्यालादारी कर्मचारी



काठमाडौँ, २४ साउन । प्रदेश तथा स्थानीय तहले ठूलो संख्यामा कर्मचारी अभाव झेलिरहेका बेला संघ मातहतको एउटै सरकारी कार्यालयमा करिब ६ सय करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको पाइएको छ । बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभागमा बिनाअध्ययन र गृहकार्य १ सय ६९ जना करारमा तथा ४ सय ज्यालादारीमा कर्मचारी कार्यरत रहेको विभागमातहतको कर्मचारी प्रशासन शाखाले जानकारी दिएको छ ।

जबकि त्यस विभागमा स्थायी दरबन्दीको संख्या ४ सय ८६ मात्र छ। अस्थायी दरबन्दी भने ७ सय ४४ रहेको उक्त शाखाले जनाएको छ । अस्थायी दरबन्दीभित्र करारमा कर्मचारी भर्ना गरिएको र आयोजना प्रमखले आफ्नो आवश्यकता हेरेर ज्यालादारी कर्मचारी भर्ना गर्ने गरेको कर्मचारी प्रशासन शाखाका अधिकारीहरूको भनाइ छ ।

विभागका महानिर्देशक रामचन्द्र दंगालले करिब ६ सय कर्मचारी करार तथा ज्यालादारीमा कार्यरत रहेको स्वीकार गरे । उनीहरू पनि नेपाली नागरिक नै हुन् । एकजनाको भरमा सिंगो परिवार आश्रित हुन्छ, दंगालले भने, करारमा कार्यरत कर्मचारीले कार्यालयमा काम गरेरै खाएका हुन्छन् । त्यसैले सकेसम्म कर्मचारी नहटाऔं भन्ने हाम्रो नीति हो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्