काठमाडौँ, ३० फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एउटै व्यक्ति दोहोरिएर राष्ट्रपति बन्न नपाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
राजनीतिमा मान्छेहरूलाई आकर्षित गर्नका लागि पनि एक पटक राष्ट्रपति, दुई पटकसम्म प्रधानमन्त्री, तीन पटकसम्म मन्त्री र चार पटकसम्म सांसद हुने व्यवस्था गर्नु उपयुक्त हुने उनको भनाइ थियो ।
नेपाल ट्रेड युनियन कांग्रेसको मङ्गलवारदेखि काठमाडौँमा सुरु भएको नीति सम्मेलनमा बोल्दै महामन्त्री शर्माले राष्ट्रपति पदमा एउटै व्यक्तिले दोहोर्याएर शपथ ग्रहण गर्न नपाउने व्यवस्था गरेको भए अहिलेसम्म देशले पाँचौँ राष्ट्रपति पाइसकेको हुने स्मरणसमेत गराएका थिए ।
उनले सांसद, मन्त्री भइसकेकाहरूले देशको आर्थिक रूपान्तरणको काममा योगदान दिन सक्ने व्यवस्था नीतिगतरूपमै भए त्यो झनै राम्रो हुने धारणासमेत राखेका थिए ।
महामन्त्री शर्माले भने, ‘एक पटक एउटा मान्छे राष्ट्रपति बन्ने, दोहोर्याएर शपथ ग्रहण गर्न नपाउने भनेको भए अहिले रामचन्द्र पौडेलले शपथ ग्रहण गर्दै गर्दा देशले पाँचौँ राष्ट्रपतिले पाइसकेको हुन्थ्यो । डा.रामवरणले दुई पटक, विद्या भण्डारीले दुई पटक शपथ ग्रहण गर्नुभयो । राजनीतिमा रूपान्तरणभन्दा कतिखेर मान्छे आकर्षित हुन्छ भने एउटा मान्छे एकचोटि राष्ट्रपति बनोस् । दुई पटक प्रधानमन्त्रीको शपथ ग्रहण गरोस् । तीन पटक मन्त्री हुँदै गर्दा आफ्नो सम्पूर्ण योग्यता देखाओस् । चार पटकसम्म सांसद बनोस् । पाँचौँ पटक उसले आर्थिक रूपान्तरणको काममा हात हालोस् ।’







