Logo

‘एकका लागि एक अभियान’द्वारा विपद् सहयोगी ४२ दाता र अभियन्तालाई सम्मान



झापा, २० पुष । संकटका घडीमा सरकारी संयन्त्रभन्दा छिटो र प्रभावकारी रूपमा पीडितको घरदैलोमा पुग्ने परिचय बनाएको ‘एकका लागि एक अभियान’ ले विपद् व्यवस्थापनका क्रममा सहयोग र समन्वयमा उल्लेख्य योगदान पुर्‍याउने दाता तथा अभियन्तालाई सम्मान गरेको छ।

सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै आइरहेको अभियानले आइतबार बिर्तामोडमा आयोजित विशेष समारोहबीच जिल्लाका विभिन्न संघ–संस्था, व्यक्तित्व र सामाजिक अभियन्तासहित ४२ जनालाई एकैपटक सम्मान गरेको हो। कार्यक्रममा अभियानको आय–व्यय सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीसहित विभिन्न व्यक्तित्वलाई सम्मानपत्र प्रदान गरिएको थियो। हाल काभ्रेपलान्चोकका प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत अधिकारीलाई झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र अभियान संयोजक महेन्द्रकुमार गिरीलगायतले संयुक्त रूपमा सम्मान गरेका थिए।

गत साउन १८ र १९ गते झापा–इलाम क्षेत्रमा आएको बाढी तथा पहिरोका बेला अभियान सक्रिय भई उद्धार तथा राहतमा अग्रसर भएको थियो। सो अवधिमा अभियानको समन्वयमा करिब दुई हजार परिवारलाई तीन हजारदेखि तीन हजार पाँच सय रुपैयाँ बराबरको राहत प्याकेट वितरण गरिएको संयोजक गिरीले जानकारी दिए। यस्तै, सात सय परिवारका लागि सरसफाइ सामग्री, पाँच सय हाइजिन किट, तीन सय सेन्टर किट र दुई सय ब्ल्याङ्केट पनि वितरण गरिएको थियो।

अभियानले सामग्री संकलनदेखि प्याकिङ र व्यवस्थापन गरी जिल्ला विपद् व्यवस्थापन समितिमार्फत एकद्वार प्रणालीबाट राहत वितरणलाई व्यवस्थित बनाउन सहयोग गरेको थियो। कार्यक्रममा अभियान स्थापना यताकै आय–व्यय विवरणसमेत सार्वजनिक गर्दै हालसम्म २५ लाख ८५ हजार ९५० रुपैयाँ नगद तथा उल्लेख्य जिन्सी सामग्री संकलन गरी पीडितलाई सहायतारूपमा हस्तान्तरण गरिएको जानकारी दिइयो।

२०७७ वैशाख १९ गते स्थापना भएको ‘एकका लागि एक अभियान’ ले कोभिड–१९ को पहिलो र दोस्रो लहरमा राहत वितरण, अक्सिजन बैंक स्थापना, स्वास्थ्य सामग्री सहयोग, प्लाज्मा बैंक र पीसीआर ल्याब स्थापना जस्ता काम मार्फत व्यापक मानवीय सेवा गर्दै आएको छ। हाल अभियानले पाँच करोड रुपैयाँको दिगो विपद् कोष तथा अक्षयकोष निर्माणको लक्ष्यसहित क्रियाशील रहेको बताइएको छ।

“एक थुकी सुकी, सय थुकी नदी” भन्ने भावनाबाट प्रेरित अभियानमा एक लाखभन्दा बढी दाताको सहभागिता रहेको संयोजक गिरीले बताए। झापाका सहकारी संस्था, निजी क्षेत्र र अन्तर्राष्ट्रिय झापाली समुदायको सहकार्यले अभियानलाई थप सुदृढ बनाएको उल्लेख गर्दै उनले भविष्यमासमेत विपद् व्यवस्थापनमा सक्रिय रहने प्रतिबद्धता जनाए।

संयोजक गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य अभियान सदस्य लीला चिमरियाले राखेका थिए भने सहजीकरण अभियान सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले गरेका थिए। कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल तथा सम्मानित व्यक्तित्वका तर्फबाट तत्कालीन प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्