Logo

एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ: अध्यक्ष ओली



काठमाडौँ, २५ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले लोकतन्त्रको रक्षा, सम्वद्र्धन र सुदृढीकरणका लागि काम गर्ने बताएका छन् ।

निर्वाचनपछिको पहिलो प्रतिनिधिसभा बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले संविधानको रक्षाका लागि काम गर्ने बताए ।

“अहिलेको समीकरणले संविधानको रक्षाका लागि काम गर्नेछ”, उनले भने, “राष्ट्रियता, अखण्डता, देशको सार्वभौमसत्ता, स्वाभिमानको पक्षमा सरकार उभिन्छ ।” सुशासन, भ्रष्टाचार नियन्त्रणमा सरकारको महत्वपूर्ण नीति हुने जनाउँदै भ्रष्टाचारप्रति शून्य सहनशीलतालाई जनताले पत्याउने गरी अगाडि लैजाने उनले विश्वास दिलाएका थिए ।

“अब हामीले गम्भीर शिक्षा लिनुपर्छ । मुख्यरुपमा लोकतान्त्रिक मूल्य मान्यतामा अगाडी बढ्नुपर्छ । सांसद र नेताले सम्पूर्ण समय देशका लागि खर्चनुपर्छ”, एमाले संसदीय दलका नेता ओलीले भने, “अहिले मुलुकमा राष्ट्रिय एकताको आवश्यकता छ । एकताबद्ध भएर राष्ट्र निर्माणमा लागौँ ।” सबैलाई देश निर्माणमा सकारात्मक योगदान गर्न आग्रह गर्दै उनले देशका लागि सँगै काम आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्