पाल्पा, १२ असार । पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ ।
एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने बताए ।
त्यस्तै ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराइने भएको छ । सरकारको नीतिअनुसार यसअघि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध हुँदै आएकामा गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न लागेको हो ।