Logo

एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेद्वारा पार्टी परित्याग



काठमाडौँ, २५ चैत । नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् ।

काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनले पार्टीको सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै पार्टीको साधारण सदस्य समेत नरहेको घोषणा गरेका हुन् ।

भविष्य नभएको पार्टीको नेता हुनभन्दा सम्मानित नागरिक भएर जिउनु जीवनको लागि महत्त्वपूर्ण कुरा हो भन्ने भनाइलाई आत्मसात् गरेर पार्टी परित्याग गरेको उनले बताएका छन् ।

उनले नेकपा एकीकृत समाजवादी ‘पिँध बिनाको बाल्टी’को अवस्थामा रहेको टिप्पणी गरे । अहिले एकीकृत समाजवादीका नेताहरु सांसदको लागि झगडा गर्ने सांसद पाउनासाथ मन्त्री बन्न मरिहत्ते गर्ने अनि जति खाए पनि नअघाउने खालका भएका समेत टिप्पणी गरेका छन् ।

उनले गएको माघ २१ र २२ गतेको केन्द्रीय कमिटीको बैठकमा आफ्नो धारणा सहित ३३ बुँदे फरक मत राखी छलफलको लागि माग गरे पनि अहिलेसम्म कुनै पनि छलफल नभएको गुनासो पनि गरेका थिए ।

सम्मानित पद दिए एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल समेत एमालेमा नै फर्किने मनस्थितिमा रहेको दावी गर्दै उनले आफू पनि एमालेमा फर्कने संकेत गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्