काठमाडौँ, १३ मंसिर । नेकपा (एकीकृत समाजवादी)ले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई आगामी दिनमा निरन्तरता दिने निष्कर्ष निकालेको छ ।
समाजवादीको आज बसेको बैठकले निर्वाचन नतिजापछिको राजनीतिक घटनाक्रमको विकास सँगसँगै आगामी रणनीति गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।
उनले भने, “राष्ट्रिय राजनीतिको आगामी बाटो बारेमा गम्भीर चिन्तन मनन ग¥यौँ । देश कतै दक्षिणपन्थी दिशातर्फ जान लागेको त होइन भन्ने कुरालाई गम्भीरताका साथ लिँदै त्यसबाट सतर्क हुनुपर्ने आवश्यकता महसुस ग¥यौँ ।” बैठकमा देशभरिबाट पार्टीले पाएको मतपरिणामका बारेमा छलफल भएको जानकारी दिँदै अध्यक्ष नेपालले इलाम र उदयपुरको नतिजालाई गम्भीरतापूर्वक लिएको बताए ।
“देशभरबाट निर्वाचनको सूचना आउन बाँकी रहेको आएपछि विस्तृत र गम्भीर समीक्षा गर्ने छौँ”, उनले भने । बैठकले पार्टीका तर्फबाट विजयी उम्मेदवारलाई बधाई तथा निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र आम मतदातालाई धन्यवाद दिएको छ । अध्यक्ष नेपालले अहिलेकै अवस्थामा वामपन्थी दलबाट सरकार बन्ने सम्भावना आफूले नदेखेको बताए ।
एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले स्थायी कमिटी, केन्द्रीय कमिटी र जिल्ला भेलामार्फत निर्वाचनको समीक्षा गरिने बताए । निर्वाचनबाट प्राप्त परिणाम सन्तोषजनक नभए पनि गठबन्धनबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्ने निष्कर्षमा पुगिएको उनको भनाइ छ ।







