काठमाडौँ, २८ मंसिर । नेकपा एकीकृत समाजवादीको आज बस्ने ७० औं सचिवालय बैठकमा विधान मस्यौदामाथि छलफल हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्ने मापदण्ड तय गर्ने उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
सङ्गठन निर्माणमा समर्पित पार्टीको वैचारिक दृष्टिकोणलाई जनतासम्म पुर्याउन सक्षम तथा अहिलेसम्म अवसर प्राप्त नगरेका नेतालाई प्राथमिकतामा राखेर बनाइने मापदण्डका आधारमा उम्मेदवार छनोट गरिने उनको भनाइ छ ।
बैठकमा देशभरको साङ्गठनिक अवस्था, जनवर्गीय सङ्गठनको कार्यप्रगतिको समीक्षा हुने छ । सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने उनले बताए ।
पार्टीको विधान हेरफेर गर्न आगामी माघमा हुने विधान सम्मेलनका लागि एजेण्डा प्रस्ताव गरिने, समान विचार राख्ने राजनीतिक दल, सङ्घसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराइने उपमहासचिव खतिवडाले जानकारी दिए । बैठकले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलन मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी हेरफेर गर्ने बताइएको छ ।







