Logo

एकीकृत समाजवादीमा जनताको आकर्षण बढेको छ: नेपाल



पोखरा, २१ साउन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थापनाको छोटो समयमै आफ्नो पार्टीमा जनताको आकर्षण बढेको बताएका छन् ।

मुस्लिम इत्तेहाद सङ्गठनको गण्डकी प्रदेशस्तरीय भेलाको आज पोखरामा उद्घाटन गर्दै उनले आगामी मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले पार्टीलार्ई देशैभर थप स्थापित गर्नेसमेत बताए ।

संविधान र लोकतन्त्र जोगाउन र समग्र परिवर्तनको रक्षाका लागि पार्टी स्थापना गरिएकाले समेत जनतामा पार्टीप्रति उत्साह बढेको उनको भनाइ छ ।

अध्यक्ष नेपालले पार्टीका नेता-कार्यकर्तालाई सङ्गठन निर्माण गरेर चुनावको तयारीमा लाग्न र जनतामा जान निर्देशनसमेत दिए । उनले गठबन्धनका दलले एक्लै बहुमत ल्याउँछु भनेर घमण्ड र अहङ्कार नदेखाउनसमेत आग्रह गरेका छन् ।

उनले भने, “गठबन्धन भएका स्थानमा गठबन्धनका उम्मेदवारलाई र पार्टीको एकल उम्मेदवारी भएका ठाउँमा पार्टीका उम्मेदवारलाई विजयी गराउन लाग्नुहोला । जनताको दुःख, सुखमा साथ दिने काम गरेर निर्वाचनमा पार्टीलाई महत्वपूर्ण शक्तिका रूपमा स्थापित गर्नुपर्नेछ ।”

प्रतिक्रिया दिनुहोस्