फाइल तस्बिर
काठमाडौँ, २७ चैत । नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार चयनको मापदण्ड बनाएको छ ।
चैत्र २६ र २७ मा बसेको केन्द्रीय सचिवालयको २० औँ बैठकले उम्मेदवार चयनको ८ बुँदे मापदण्ड तय गरेको महासचिव बेदुराम भुसालले बताए ।
भुसालका अनुसार पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको हुनुपर्ने छ ।
यस्तै, भुसालले जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको र समावेशीतालाई ध्यान दिने खालको हुनुपर्ने बताए ।
बैठकले उम्मेदवारको सिफारिस समयसमेत पार्टी मातहतलाई निर्देशन दिएको छ । वडा कमिटीले यही चैत्र ३० गतेभित्र, पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र, जिल्ला कमिटीले आगामी वैशाख ४ गतेभित्र, प्रदेश कमिटीले आगामी वैशाख ६ गतेभित्र र केन्द्रीय कमिटीले आगामी वैशाख ८ गतेभित्र उम्मेदवार टुंग्याउने गरी निर्णय गरेको समेत महासचिव भुसालले बताए ।
यस्तै, बैठकले स्थानीय तह निर्वाचनका सन्दर्भमा पार्टीले जारी गर्ने स्थानीय निर्वाचन घोषणा पत्र-२०७८ को मस्यौदामा छलफल गरी सुझावसहित पारित समेत गरेको छ ।