काठमाडौँ, २६ पुस । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ ।
मङ्गलवार बिहान पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीले प्रधानमन्त्री प्रचण्डलाई सर्तसहित विश्वासको मत दिन लागेको पार्टीका उपमहासचिव एवम् पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
उनले आफ्नो पार्टीले राखेका एजेण्डा पूरा नगरे कुनै पनि बेलामा समर्थन फिर्ता लिनेगरी विश्वासको मत दिने बताए । उनले राष्ट्रियता, सुशासन देशको बिग्रिँदै गएको अर्थतन्त्र र सुधारका लागि उपयुक्त राष्ट्रिय स्वाभिमान, सार्वभौम सत्ता, आदिका विषयमा अथवा विभिन्न राष्ट्रिय संवेदनशील विषयहरुमा सरकारले आवश्यक काम गर्नुपर्ने सर्त रहेको बताए । उनले विश्वासको मत दिए पनि सरकारमा सहभागी भने नहुने बताए ।
उनले भने, ‘हाम्रो केन्द्रीय सचिवालयको बैठकले वर्तमान प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन, विश्वासको मत दिने की नदिने? भन्ने विषयमा छलफल गरेका छौँ । हाम्रो छलफलले यो सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय गरेको छ । अहिले विश्वासको मत दिन्छ, हाम्रा एजेण्डाहरु राखिनेछन् । ती एजेण्डाहरु पूरा नगरे कुनै पनि बेलामा त्यहाँबाट फर्किन सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय छ ।’







