काठमाडौँ, ९ असार । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा पार्टीका नेताहरूले मन्त्री हेरफेरको विषयलाई तत्काल टुङ्ग्याउन दबाब दिएका छन् ।
आज पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको २७ औँ बैठकमा नेताहरूले अध्यक्ष माधवकुमार नेपाललाई मन्त्री हेरफेरको विषयलाई तत्काल टुङ्गो लगाउन दबाब दिएका हुन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव डा.गंगालाल तुलाधरले बुधवार र बिहीवार गरी दुई दिन बसेको सचिवालय बैठकले शुक्रवार हुने पोलिटब्युरो, शनिवार हुने केन्द्रीय कमिटी तथा असार १३ र १४ गते हुने केन्द्रीय परिषद्को बैठकका एजेन्डाका बारेमा छलफल गरेको बताए ।
उनले त्यो बैठकमा पार्टी अध्यक्ष नेपालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि पनि छलफल गरेको जानकारी दिए ।
तुलाधरलेले पार्टीले गरेको निर्णय बहानाबाजी देखाएर प्रधानमन्त्री शेरबहादुर देउवाले रोकेको भन्दै सांसदहरूले त्यसले पार्टीका कार्यकर्तामा नराम्रो सन्देश गएकोप्रति ध्यानाकर्षण गराएको पनि बताए ।







