
म सानो थिएँ । आमा प्रायः अरुकैमा काम गरेर साँझ बिहानको छाक टार्नु हुन्थ्यो । बिहानै साहुको मेलामा जानुपर्ने भएकाले आफ्नो चुलोसम्म बल्दैनथ्यो । मेरो पेट भोकले बटारिँदै हुन्थ्यो ।‘भोक लाग्यो आमा, खानादेऊ!’ भन्दै म रुन सुरुगरिहाल्थेँ। आमाले सम्झाई बुझाई गरेर भन्नु हुन्थ्यो, ‘केहीबेरपछि साहुकोमा आइज पेटभरि खान दिउँला ।’
मलाई सम्झाएर साहुकोमा आमा हिँडेको केही समय बित्न नपाउँदै म पनि जान्थेँ । म आमाबिना घरमा एक्लै धेरैबेर कहाँं रहन सक्थेँर ! आमा पुगेको १० मिनेट नहँुदै म पुगिहाल्थेँ । साहुको परिवारभित्र बसेर रमाउँदै गफिँदै नास्ता गर्दै थिएँ । तर, मेरी आमालाई पिँढीमा बसालिएको थियो । टपरीमा रोटी अलिकति अचार र दही राखिएको थियो ।
आमाले सायद मेरै प्रतीक्षा गरिरहनु भएको थियो । मलिन अनुहार पारेर मलाई अँगालोमा लिनुभयो । रोटीटुुक्रा पारेर टपरीको दहीमा भिजाउनु भयो । विस्तारै विस्तारै सबै मलाई खुवाउनु भयो । उतिबेला मलाई निक्कै आनन्द महसुस हुन्थ्यो । तर, त्यही कुरा सम्झेर आजभोलि एकान्तमा निकै रुनेगर्दछु ।
भित्रबाट आवाज आयो,‘साइँली अरु खान्छेऊ? खानेभए एउटा रोटी अझै बचेकोछ, खाऊ ल !’
‘हुन्छ’, भन्दै आमाले रोटी माग्नुहुन्थ्यो । मलाई एकान्तमा बोलाएर भन्नुहुन्थ्यो,‘ल यो रोटी लिएर जा, गाईलाई दुई मुठा घाँस टाढैबाट फाल्दिनु । भोकलागे यो रोटी खानु । फेरि गाईले हान्लाहै बाबु ! सानोछस् ध्यानदिएस् ल !’‘हुन्छ,ल’भन्दै म कुद्दैघरपुगिहाल्थे । फेरि त्यति टाढापनि त कहाँथियो र ! १० मिनेटमै घर पुगिन्थ्यो ।
गाईलाई घाँस हालेर बारीमा आफ्नै सुरमा थिए । आमा आउनुभयो र भन्नुभयो, ल यहीँँ खेलिरहन्छस् हिँड् ।सधैँ मलाई लिएर जानुहुन्थ्यो, खाना चाहिँ मलाई कचौरामा र आमालाई टपरीमा आउँथ्यो । खै केटाकेटी भएर होला, अरुको घरको खाना निक्कै मिठो लाग्ने मलाई ।
मेरो कारण आमा कयौँ दिन भोकै बस्नुभयो । कयौँ दुरीको बाटोमा पैदल हिँड्नुभयो । आमाको कथा निकै लामो छ ।बसेर सुन्नुमात्र पर्छ, बर्बर्ती आँशु झर्र्छ ।
आमा भन्नुहुन्छ, ‘सानैबाट तैँले धेरै खान्थिस्, एक जनाले काम गर्ने दुई जनाले खाने भन्लान भनेर तँलाई पेटभरि खुवाएर म भोकै उठ्थेँ ।तँ सानैछँदा तेरो बाले सौतेनी आमा लिएर हिँडे, कयौँपटक मर्छु भनेर प्रयास गरेँ, तर मर्नुभन्दा पहिल्यै आँखामा झल्झली तेरो तस्वीर आउँथ्यो, मन मुटु चसक्क तेरै मायामा चस्किन्थ्यो, तेरै लागि बाँच्नु पर्यो भन्ठानेर मर्न सकिनँ ।’ आमाले विगत सम्झनु भयो ।
एक्ली महिला न कसैको साथ, न सहयोग, कष्ट उठाइरहनुभयो । अफ्ठ्यारो पर्यो कि मलाई हेरेर मन बुझाउने बानी बसिसकेको थियो । साँच्चै आमाजस्तो माया गर्ने दुनियाँमा अरु कुनै आफन्त हुँदोरहेनछ ।
समयको गतिसँगै म पनि कुरो बुझ्ने हुँदैगएँ, पानी पँधेरोमा आमासँगै जान्थे । पहिले सबैले आफ्ना–आफ्ना घ्याम्पा भर्थे, आमा अलिकटाढा उभिएर पर्खिरहनु हुन्थ्यो । हामीभन्दा कयौँ पछाडि आएकाहरु पानी भरेर गइसक्थे । म ट्वाँ परेर हेरिरहन्थे सबैलाई । उमेर बढेसँगै समान अधिकार नभएको त्यो समाजप्रति विस्तारै आक्रोशित हुँदैथिएँ म ।
कसैले एकदिन पनि सुखदुःख के कस्तो छ ? भनेर कहिल्यै सोधेनन् । मानव जातिको त्यो घमण्डर पक्षपात देखेर ममाघृणा जागिसकेको थियो । हामीबाट केही सहयोग चाहिए बिना हिचकिचाहट माग्ने क्षेत्री, ब्राहमण जाति हामीले केही सुको लिएबापत काम गराउन खोज्दथे । धर्ती एउटै, आकाश एउटै, सबैको रगत एउटै, तरपनि किन मान्छे मान्छेमा फरक जात बनायो ? म सोचेर स्तब्ध हुन्थेँ ।
स्कुलमापनि छुवाछुतका समस्या भोग्न थालेँ मैले ।साथीहरुले मलाई हेर्ने नजर फरक हुन्थ्यो ।कुनै पुरस्कार दिँदा मलाई गरिब या दलित नाम जोडेरदिइन्थ्यो ।
भोज भतेर समारोहमा हामीलाई अलग्गै बसालिन्थ्यो । साँच्चैको आतङ्ककारी बनेर यो समाजका सामन्तलाई तहसनहस पाराँैझै लाग्थ्यो ।तर, सोच्दथे म भर्खरसमाजलाई बुझ्न थाल्दैछु । विचरा आमाले कति कष्ट सहनु भयोहोला ! यति लामो समयसम्म कसरी जिउनु भयो होला ! त्यसैले समाजको शोषण र थिचोमिचो बुझ्न चाहन्थेँ । समाजमा दलितप्रतिको सोच, विचार र व्यवहार निर्मुल पार्न चाहन्थेँ ।
हाम्रो जातलाई एजेण्डा बनाएर कयौँशासकले राजनीति गरे । तर, वास्तविकता कसैले बुझ्न सकेन । हाम्रो पीडालाई राजनीतिक हतियार बनाएर चुनाव जित्नेलाई प्रश्न गर्न मन लाग्छ, कहिलेसम्म दलितलाई प्रयोग गर्छौ ?
सोध्न मन छ,ठूलठूला मञ्चमा हाम्रै पक्षमा बोल्ने ती नेताहरुले के आफ्नीछोरीचेली दलितसँग विवाह गर्दिन सक्छन् ? बाजा बजाएर दलितकी बुहारी बनाउन सक्छन् ?
स्कुलमा पढाउने शिक्षकले भन्ने गर्नुहुन्छ, मानिस सबै एउटै हो । ठूलोर सानो कोही हँुदैन । यही कुरा व्यवहारमा लागू गर्नु पर्छ ।मञ्चका नारा एउटा छ, समाजको वास्तविकता अर्कै छ ।
भनाई र गराईमा धेरै फरक छ । अन्तरजातीय माया र प्रेमको कुरा गर्नुपर्दा समाज पुरानै संस्कृतिमा जकडिएको छ । जातभात मान्दिन भन्नेहरु देखावटी हुन् । किनकि, म जस्तै कयौँ दलितका समस्या जिउँका तिउँछन् । समाजकुसंस्कारको पञ्जाबाट मुक्त हुन सकेको छैन । राजनीतिक परिवर्तन भएपनि सामाजिक र सांस्कृतिक परिवर्तन हुन सकेको छैन ।
मलाई तपाईँ भन्नेहरु मेरी आमालाई अझै तिमी भनेर बोलाउँछन् ।म पँधेरीमा गए उनीहरुकै अगाडि घ्याम्पो भर्दिन्छु । तर, मेरी आमालाई अझै लाइनमै बसाउँछन् । समाज अझै पनि जरैदेखि फेरिएको छैन ।
आफ्नो व्याक्तिगत पीडा छँदैछ, त्यसमा सामाजिक भेदभावले दलितलाई जीविकोपार्जनमा पनि समस्या हुने गरेको छ । मन्दिर, पाटीपौवामा हाम्रो कुनै औचित्य हँुदैन, त्यो बनाउन हामीलाई बोलाइन्छ ।
स्कुल, कलेज र अस्पतला बनाउन हाम्रै अवश्यकता पर्छ । तर, बनेपनि त्यसमा हाम्रो पहुँच हुँदैन । क्षेत्रीब्राह्मण पनि हामीले बनाएको घरमा बस्छन् तर त्यही घरमा जान हामीलाई बन्देज हुन्छ ।हाम्रो समाजमा अहिले पनि यो व्यवहारले जरा गाडेको छ ।
दलितले सयौँ वर्षदेखि यो पीडा खेप्दै आएका छन् । आफ्नो ठाउँमा केही गरौँ भन्न खोज्यो भने अपमानका छिटा बेहोर्नु पर्छ । बरु परदेशिँदा यो अपमान बेहोर्नु पर्दैन ।
पढेर ठूलो मान्छेबन्छु भन्ने सपना मनबाट हराइसकेको थियो । समाजमा मेरो कतिपयसँग विवाद भइरहन्थ्यो । मिलाउन आउने नेता मेरो विरुद्ध बोल्ने गर्दथे । गरिब त्यसमा पनि दलितका पक्षमा बोल्ने धेरै हुँदाहुँदै पनि मलाईनै गलत सावित गर्ने काम हुन्थ्यो । निर्वाचनमा मेरो गुणगान गाउने नेता आजभोलि भेट्दा दुश्मनलाई जसरी हेर्ने गर्दछन् । ‘यहाँ बसेर के गर्छस्,लाहुर गएर पैसा कमाएर आमालाई सुख दे’ भन्दै अर्ति दिन्छन् ।
दलित, जनजाति, क्षेत्री,ब्राह्मण सबैले एकअर्कालाई इज्जत गरेर बोलाउन सिकाउनु पर्छ । आमा सबैकी समान हुन्छिन् । आमा दलित कि गैरदलित हुन् । रुकुमको घटनाले समाजको चरित्र उदाङ्गो बनाएको छ । समाजमापरिवर्तन गरेर देखाउन खोज्ने नवराज र म जस्ता कयाँै युवाहरु मारिएका छौँ ।
एउटी आमाको काख रित्तिएकोछ । दिदी बहिनीले भाइ गुमाएका छन् । साँचो प्रेमको हार भएकोछ। सिङ्गो दलितको मनोबल कमजोर बनाइएको छ। तर, पनि हामी समाज परिवर्तनका लागि उठाउने आवाजलाई निरन्तरता दिइरहनेछौँ। किनकि यो सिङ्गो देश हामी सबैको हो । जति अधिकार अरुको छ, त्यतिनै अधिकार दलितको पनि छ । (दाङ निवासी लेखक खनाल भारतको दिल्लीमा रहेका छन् ।)