काठमाडौँ, ११ कात्तिक । पूर्वसभामुख ओनसरी घर्तीले मुलुकमा सुशासन र विकासका लागि कानून बनाउन सत्तारुढ गठबन्धनका तर्फबाट आफूले काठमाडौँ-२ मा उम्मेदवारी दिएको बताएकी छन् ।
तिहार पर्वका अवसरमा काठमाडौँको शंखरापुर नगरपालिका-३ जहरसिंहपौवामा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा घर्तीले सुशासन र विकास आफ्नो प्रमुख चुनावी एजेण्डा रहेको बताइन् ।
आफू सभामुख पदमा रहँदा सुशासनका पक्षमा दृढतापूर्वक उभिएको भन्दै उनले आफ्नो कामबारे सञ्चार माध्यममा त्यतिबेला प्रकाशित र प्रसारित समाचार खोजेर हेर्न आग्रह गरिन् ।
‘म सभामुख भएको मान्छे हुँ । दुई वर्ष सभामुख हुँदा सुशासनको मामिलामा देशलाई घात गर्ने काम गरेको वा एक रुपैयाँ भ्रष्टाचार गरेको कसैले पुष्टि गर्न सकोस् म राजनीतिबाटै सन्यास लिन्छु’, उनले भनिन् ।
घर्तीले प्रतिनिधिसभामा निर्वाचित भएपछि आफ्नो प्रमुख ध्यान भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नुहुने उल्लेख गरिन् । जनताको विकास र समृद्धिको सपना नै आफ्नो सपना भएको उनको भनाइ थियो ।







