Logo

एक वर्षभित्र नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालन हुन्छ: ज्वाला



काठमाडौँ, २ साउन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले एक वर्षभित्र नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग सञ्चालन हुने बताएका छन् ।

मंगलवार उच्च अधिकारीसहित नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको अनुगमनपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सुरुङमार्गको ३५ मिटर मात्रै खोल्न बाँकी रहेको भन्दै करिब एक वर्षभित्र यातायात सञ्चालन गर्ने गरी निर्माण अघि बढाइएको बताए । मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति सन्तोषजनक रहेको भन्दै समयमै निर्माण सम्पन्न हुने विश्वास रहेको बताएका छन् ।

उनले देशकै संघीय राजधानी काठमाडौँ जोड्न महत्वपूर्ण आयोजना भएको भन्दै सरकारको प्रमुख प्राथमिकतामा रहेको जानकारी दिए । उनले नेपालमा पहिलो नमूना प्रयोगको रूपमा यातायात सुरुङ मार्गको रूपमा आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको बताए ।

उनले नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माणमा सम्पन्न भएसँगै काठमाडौँ आवतजावतका लागि सहजता हुने बताए । उनले यो आयोजनाले नेपालको समृद्धिमा विकास आर्थिक रूपमा ठूलो मद्दत पुर्‍याउने बताए । उनले नेपाल जस्तो पहाडी देशका निम्ति जाइकाको साढे १६ अर्ब सहयोग र नेपाल सरकारको ७ अर्ब जति लगानी भएको जानकारी दिए ।

उनले अहिले देख्दा खर्च बढी भएको देखिए पनि निकट भविष्यमा आयोजनाबाट धेरै ठूलो लाभ प्राप्त गर्न सकिने बताए । उनले टनेलको निर्माण कार्य सम्पन्न गरी सुरुङ मार्गमा यातायात सञ्चालन गर्ने विषय धेरै महत्त्वपूर्ण रहेको भन्दै सरकारले निर्धारित समयमै निर्माण सम्पन्न गर्ने बताएका हुन् ।

उनले स्थानीय जनता र जनप्रतिनिधिलाई नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग निर्माण भएका अवरोध हटाउन सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले निर्माण कार्य र ढिला गर्ने र गुणस्तर कम हुने कामलाई सरकारले कुनै छुट नदिने उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्