Logo

एक वर्षमा ६ लाख २८ हजार भन्दा बढी विदेश गए



काठमाडौँ, ३२ असार । कोरोना सङ्क्रमणपछि केही घटेको वैदेशिक रोजगारीको क्षेत्र अहिले लयमा फर्किएको छ ।

चालु आर्थिक वर्षमा ६ लाख २८ हजार ५ सय ३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् ।

कोभिड-१९ विरुद्धको खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको लचकतासँगै पछिल्लो वैदेशिक रोजगारीमा जाने क्रम बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षमा श्रम स्वीकृति लिएको सङ्ख्या अघिल्लो आर्थिक वर्षको भन्दा ४ लाख ६१ हजार ८ सय ५ ले धेरै हो ।

गएको दुई वर्ष कोरोनाका कारण नेपाल र श्रमगन्तव्य देश प्रभावित भएर रोकिएको वैदेशिक रोजगारी यो वर्ष तीन दशमलव ७४ गुणाले बढेको देखिएको छ । चालु आर्थिक वर्षमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या सबैभन्दा बढी मङ्सिर महिनामा रहेको छ ।

मङ्सिर महिनामा ७४ हजारभन्दा बढीले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम साउनमा २५ हजार ४ सय ६८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ । यस्तै पुसमा झन्डै साढे ६६ हजारले श्रम स्वीकृति लिए भने जेठ र असारमा क्रमशः साढे ६२ हजार र ६० हजारले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ ।

यो वर्ष नेपालीका प्रमुख श्रमगन्तव्य देश साउदी अरब र कतार बनेका छन् । साउदी अरबका लागि १ लाख ८८ हजार ३ सय ९६ जनाले र कतारमा १ लाख ८४ हजार ५ सय ३ जनाले श्रमस्वीकृति लिएका छन् । चालु आर्थिक वर्षमा कम श्रम स्वीकृति लिने देशमा ओमान, जापानलगायतका देश रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्