Logo

एक हप्तादेखि नगरपालिकाको कामकाज ठप्प



उदयपुर, ७ साउन । उदयपुरको त्रियुगा नगरपालिकामा एक हप्तादेखि नगरपालिकाको कामकाज ठप्प भएको छ ।

करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरी एक हप्ता अगाडि मात्र निष्कासन गरिएकामा आन्दोलनरत कर्मचारीहरुले आफूहरु पुनः बहाली हुनुपर्ने माग गर्दै पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लगाई धर्ना बसेर कामकाज ठप्प पारेका छन् ।

बिहीबार र शुक्रबार आन्दोलनकारी कर्मचारीहरुले नगरपालिकाको मूलगेटमै ताला लगाएपछि नगरपालिकाका कुनै जनप्रतिनिधिहरु पनि नगपालिकाभित्र प्रवेश गर्न सकेनन्, केही सेवा लिन आएका सेवाग्राही पनि रित्तै घर फर्कनु परेको थियो ।

एक हप्तादेखि आफूहरुले नगर प्रमुख वसन्तकुमार बस्नेतको ध्यानाकर्षण गराएको र आफूहरु विनाकारण निष्कासन हुन परेकाले पुनः बहाली नभएसम्म आन्दोलन नरोकिने आन्दोलनकारी कर्मचारीका तर्फबाट संयोजक कृपाराम चौधरीले बताए ।

यसै आर्थिक वर्षको साउन १ गतेदेखि नगरपालिकाका ६० अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरुको नगरपालिकाले म्याद थप नगरेकाले आन्दोलनरत कर्मचारीहरु स्वतः निष्कासनमा परेको त्रियुगा नगरपालिकाले बताएको छ ।

नगर प्रमुख बस्नेतका अनुसार अस्थायी र करारका धेरै सङ्ख्याको कर्मचारी पाल्दा नगरपालिकाले ठूलो आर्थिक व्यय खेप्न परेकाले कुनै आग्रह र पूर्वाग्रहविना नै उनीहरु कसैलाई पनि म्याद थप नगरिएको हो ।

अब आफूले निर्णय गरिसकेका कारण निर्णयबाट कुनै पनि हालतमा नफर्किने उनको भनाइ थियो । आन्दोलनरत कर्मचारीहरु भने आफूहरु विनाकारण निष्कासनमा परेकाले पुनः बहाली नभएसम्म नगरपालिकामा निरन्तर धर्ना दिने, गेटमा ताला लगाउने र नगरपालिकाको कामकाज ठप्प बनाउने अडानमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्