Logo

एनएसएल: वीरगञ्ज बुटवलसँग पराजित, प्ले अफमा पुग्न सकेन



काठमाडौँ, ७ पुस । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी बुटवल लुम्बिनीले वीरगञ्ज युनाइटेड एफसीलाई हराएको छ ।

शनिवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा बुटवलले वीरगञ्जलाई १-० गोलले हराएको हो ।

खेलको इन्ज्युरी समयमा गोल गर्दै बुटवलले जित निकाल्यो । बुटवलका चन्दन दासले गोल गरे । प्लेअफमा पुग्न वीरगञ्जलाई यो खेल जित्नैपर्ने थियो तर हारेर प्रतियोगिताबाट बाहिरियो । बुटवल पनि प्लेअफमा पुग्न सकेन ।

यो जितसँगै बुटवलले ८ खेलमा १० अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको छ । वीरगञ्ज ८ खेलमा ८ अङ्कसहित सातौँ स्थानमा रह्यो ।

एनएसएलमा आजै बेलुका ५ बजे लिगको अन्तिम खेलमा ललितपुर सिटी एफसी र काठमाडौँ रेजर्स एफसीबीच खेल हुँदैछ । वीरगञ्जको हारले ललितपुर ७ खेलमा १० अङ्कसहित प्लेअफमा पुगेको छ ।

काठमाडौँ प्लेअफमा पुग्न आज ललितपुरलाई जित्नैपर्ने हुन्छ । काठमाडौँ ७ खेलमा ९ अङ्कसहित सातौँ स्थानमा छ । काठमाडौँले हारेको अवस्थामा झापा एफसी प्लेअफमा पुग्नेछ । झापा ८ खेलमा १० अङ्कसहित चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्