Logo

एनपिएलमा आज दुई रोमाञ्चक खेल: पहिलो क्वालिफायर निर्धारण हुने



काठमाडौं, २० मंसिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई महत्वपूर्ण खेल हुने भएका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बिहान ११:१५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स पहिलो खेलमा भिड्नेछन्।

पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरिसकेको अपराजित सुदूरपश्चिमलाई आजको खेलमा कुनै दबाब रहने छैन। तर आठ अंकका साथ प्लेअफमा प्रवेश गरिसकेको विराटनगरका लागि भने पहिलो क्वालिफायर खेल्न आजको जित अनिवार्य छ। विराटनगरले उत्कृष्ट रनरेटका साथ जित निकाल्न सके सुदूरपश्चिमसँगै पहिलो क्वालिफायरमा पुग्नेछ, अन्यथा उसले लुम्बिनी लायन्ससँग एलिमिनेटर खेल्नुपर्नेछ।

दोस्रो खेल दिउँसो ३:३० बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुने छ। दुवै टोली प्लेअफ दौडबाट बाहिरिसकेकाले आजको भिडन्त प्रतिष्ठाको खेल मात्र हुनेछ। दुवैका छ खेलबाट चार–चार अंक रहेका छन्।

आजका खेलहरूले पहिलो क्वालिफायर र एलिमिनेटरका जोडी पूर्ण रूपमा पक्का गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्