काठमाडौँ, २१ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले पहिलो जित निकालेको छ ।
चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै कर्णालीले पहिलो जित निकालेको हो ।
चितवनले लिएको १३१ रनको लक्ष्य कर्णालीले १९।५ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।
कर्णालीको जितमा ओपनर शिखर धवनले सर्वाधिक ४५ रन बनाए । उनी ५ रनले अर्ध शतक बनाउन चुके ।
अर्का ओपनर देव खनालले २५ रन जोडे । चाडविक वाल्टनले ३० रनको योगदान दिए । अर्जुन घर्ती ११ रनमा रन आउट हुँदा जिशान मकसूद १२ रनमा नट आउट रहे ।
बलिङमा भने चितवनका कुशल मल्ल, जान निकोल लोफ्टी ईटन र रवि बोपाराले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३० रन बनायो ।
चितवनका लागि रवि बोपारा अविजित रहँदै अर्धशतकीय पारी खेले । उनले ४० बलमा एक छक्का र सात चौकाको मद्दतले ५९ रन बनाए ।
कप्तान कुशल मल्लले २३, विपीन रावलले ११, जान निकोल लोफ्टी इटन र अमर रौतेलाले समान ९र९ र दीपक बोहोराले ८ रनको योगदान दिए ।
शरद भेषावकरले अविजित रहँदै ६ रन जोडे भने सोहेल तनवीर शून्य रनमा आउट हुन पुगे । चितवनले अतिरिक्त पाँच रन प्राप्त गर्यो ।
कर्णाली याक्सका लागि विपीन शर्माले सर्वाधिक तीन विकेट लिए । कर्णालीका जिशान मकसूदले दुई, नन्दन यादव र कप्तान सोमपाल कामीले एकरएक विकेट हात पारे ।
तीन खेलमा कर्णालीले पहिलो जित हात पार्दै अंकको खाता खोलेको छ । तेस्रो खेल खेलेको चितवनको भने यो पहिलो हार हो । यसअघि दुई खेल जितेको चितवनसँग ४ अंक रहेको छ ।