Logo

एनपिएल: सुदूरपश्चिम रोयल्सको विजयी सुरुवात, विराटनगरको दोस्रो हार



काठमाडौँ, १८ मंसिर ।  सिद्धार्थ बैंक प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ ।

एनपिएलको चौथो खेलमा विराटनगर किंग्सलाई ९२ रनमा अलआउट गर्दै सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको हो ।

एनपिएलको चौथो खेलमा सुदूरपश्चिमले दिएको १ सय ८३ रनको बलियो लक्ष्य पछ्याएको विराटनगरले १६.१ ओभरमा अल आउट हुदै ९२ रन मात्र जोड्न सक्यो । विराटनगरका लागि बसिर अहमदले सर्वाधिक २४ रन जोडे । उनले २८ बलमा २ चौकाको प्रहार गरे । राजेश पुलामीले १५ बलमा १५ तथा अनिल खरेलले ११ बलमा नट आउट ११ रन जोडे । विराटनगरका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सुदूरपश्चिमका लागि स्कट कुगेलेन र अविनास बोहोराले समान ३ तथा सेफ जेब, इशान पान्डे र ब्रेन्डन मक्मलेनले समान १ विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८२ रनको बलियो योगफल तयार गर्यो ।

सुदूरपश्चिमका लागि दीपेन्द्रसिंह ऐरीले नट आउट रहँदै सर्वाधिक ५७ रन जोडे । उनले २४ बलमा ३ चौका र ५ छक्का प्रहार गरे । ब्रेन्डन मक्मेलनले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३६ रन जोडे । पाँचौ ओभरको अन्तिम बलमा अनिल खरेलको बलमा ३ बलमा ७ रन जोडेका मक्मेलनको स्टपिङ आउट गराउन विराटनगरका विकेटकिपर लोकेश बम चुकेका थिए ।

विनोद भन्डारीले २० बलमा ४ चौकाको सहयोगमा २३ रन जोडे । दोस्रो विकेटका रुपमा सुदूरपश्चिमले ओपनर विनोदलाई गुमाएको थियो । विनोद पाँचौ ओभरको चौथो बलमा अनिल खरेलद्वारा आउट भए ।

इशान पान्डेले १६ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए । १७औं ओभरको पाचौं बलमा इशान रन आउट भए ।

त्यसअघि पहिलो विकेटका रुपमा सुदूरपश्चिमले अमित श्रेष्ठलाई १ रनमा गुमाएको थियो । अमित दोस्रो ओभरको अन्तिम बलमा इस्मत आलमको बलमा मार्टिन गप्टिलबाट समातिए ।

आरिफ शेखले ५ बलमा २ चौकाको सहयोगमा ९ रन जोडे । आरिफ छैठौं ओभरको चौथो बलमा बसिर अहमदको बलमा निकोलस किर्तनबाट क्याच आउट भए । सेफ जेबले १५ बलमा १ छक्काको सहयोगमा १४ रन जोड्दै अनिल खरेलको बलमा बोल्ड आउट भए ।

विराटनगरका लागि अनिल खरेलले ३ तथा इस्मत आलम, बसिर अहमद र क्रिस सोलले समान १ विकेट लिए । सुदूरपश्चिमले पहिलो खेल नै जितका साथ सुरुवात गरेको छ ।

विराटनगरले भने लगातार दोस्रो हार हात पारेको हो । विराटनगर पहिलो खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्