Logo

एनपिएल–२ मा उपाधि दौड चर्कियो : सुदूरपश्चिम, विराटनगर, काठमाडौँ र लुम्बिनी शीर्ष चार



काठमाडौं, २१ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा उपाधि जित्ने दौड थप रोमाञ्चक बन्दै गएको छ। लिग चरण सकिँदा सुदूरपश्चिम रोयल्स, विराटनगर किङ्ग्स, काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स शीर्ष चारमा परेर प्लेअफ यात्रा सुनिश्चित गरेका छन्।

लिग चरणमा १२ अंकसहित शीर्षस्थानमा पुगेको सुदूरपश्चिम र १० अंक जोडेर दोस्रो भएको विराटनगरले पहिलो क्वालिफायर खेल्ने भएका छन्। समान १० अंक भए पनि रनरेटमा पछि परेको काठमाडौँ गोर्खाज इलिमिनेटरमा पुगेको छ, जहाँ उसले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ। सात खेलबाट ८ अंक जोडेको लुम्बिनीले अन्तिम क्षणसम्म उत्कृष्ट पुनरागमन गर्दै प्लेअफ स्थान सुरक्षित गरेको हो।

गत वर्षको विजेता जनकपुर बोल्ट्स भने यसपटक प्लेअफमा समेत प्रवेश गर्न नसकेर बाहिरिएको छ।

सुदूरपश्चिम रोयल्स : उत्कृष्ट लयमा शीर्ष दाबेदार

कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिमले सातमध्ये छ खेल जित्दै सबल दाबेदारी पेश गरेको छ। लगातार छ खेलमा जीत हात पार्दा हरेक खेलमा फरक–फरक म्याच विनर देखिनु टिमको मजबुत पक्ष मानिएको छ। अन्तिम खेलमा विराटनगरसँग हार बेहोरे पनि सुदूरपश्चिमको प्रदर्शन प्रभावशाली रहेको प्रशिक्षक जगत टमाटाले बताए।

विराटनगर किङ्ग्स : सन्दीपको नेतृत्वमा फाइनल सपनातर्फ

सन्दीप लामिछाने नेतृत्वकर्ता रहेको विराटनगरले पाँच खेल जित्दै पहिलो क्वालिफायर बुक गरेको हो। लिगको सुरुआत शानदार गरेको विराटनगरमा लोकेश बम, मर्चेन्ट डे लाङ्गे, बसिर अहमददेखि कप्तान सन्दीपसम्म फरक–फरक खेलमा चम्किएका छन्। कप्तान सन्दीपका अनुसार, “हामी कुनै एक खेलाडीको भरमा छैनौँ, सबैले योगदान दिइरहेका छन्।”

काठमाडौँ गोर्खाज : निरन्तर पुनरागमन, उपाधिमा नजर

कप्तान करण केसीको काठमाडौँले पाँच खेल जितेर प्लेअफ यात्रा तय गरेको हो। सुरुमा दुई खेलमा पराजय बेहोरेपछिको निरन्तर पुनरागमनले टोलीलाई पुनः बलियो दाबेदार बनाएको छ। “अब ध्यान उपाधि जित्नमा केन्द्रित छ,” कप्तान केसीले भने।

लुम्बिनी लायन्स : कमजोर सुरुआतपछि शानदार उभार

रोहित पौडेल नेतृत्वकर्ता लुम्बिनीले पहिलो खेलमा जितिए पनि त्यसपछि तीन खेलमा हार बेहोरेको थियो। तर पाँचौँ खेलदेखि लगातार उत्कृष्ट प्रदर्शन गर्दै टोलीले प्लेअफमा स्थान सुरक्षित गर्‍यो। कप्तान पौडेलका अनुसार, “चारै टोलीमध्ये लुम्बिनी बलियो छ, उपाधि हामीलाई रोक्ने कोही छैन।”

 

प्रतिक्रिया दिनुहोस्