काठमाडौं, ६ मंसिर । नेपालमा सबैभन्दा ठूलो घरेलु क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग एनपीएलको तयारी धमाधम चलिरहेको छ । अब नेपालमा पनि भारतको इण्डियन प्रिमियर लिग आईपीएलजस्तै धमाकेदार क्रिकेट लिगका खेल हुने भएका छन् । विदेशी खेलाडी, टन्न पैसा र विभिन्न सेलिब्रेटीको सहभागिताले यो प्रतियोगितालाई थप रोचक बनाएको छ ।
अहिले प्रतियोगिता आयोजना हुन लागेको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ । नेपाल क्रिकेट संघ क्यानले बंगलादेशबाट विशेषज्ञ डाकेर खेल मैदानको स्तरोन्नति गरिरहेको छ । मैदानमा डिजिटल स्कोरबोर्ड र फ्यानहरु बस्नका लागि विशेष स्थानको निर्माण पनि भइरहेको छ ।
त्यसैगरी, मैदानको बाउण्ड्री पनि केही बढाइएको छ । त्रिवी खेल मैदानमा दर्शकका लागि शौचालयको ठूलो समस्या रहँदै आएको थियो । यसपाली भने क्यानले यस समस्या समाधान गर्न महिला र पुरुष दर्शकका लागि छुट्टाछुट्टै शौचालय निर्माण गरिरहेको जनाएको छ । तर, मैदानलाई चाहिएको फ्लडलाइटको व्यवस्था भने अझै भइसकेको छैन ।
यो प्रतियोगितामा देशका विभिन्न शहर र क्षेत्रलाई समेटेर ८ टिम समावेश गरिएको छ । यी टिममा विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स छन् । विराटनगरका प्रशिक्षक आयरल्याण्डका केभिन ओब्रायन छन् ।
यो टिमको मार्की खेलाडीका रुपमा पूर्वकप्तान सन्दीप लामिछाने रहेका छन् । विराटनगरमा सन्दीपसहित वशिर अहमद, लोकेस बम, दिपक बोहोरा, सुवाश भण्डारी, नरेन भट्ट, प्रतिश जीसी, म्रिनल गुरुङ रहेका छन् । त्यसैगरी, यो टिममा अनिल खरेल, जितेन्द्र मुखिया, राजेश पुलामी पनि रहेका छन् । विराटनगरले विदेशी खेलाडीमा ओमानका अकिब इलियस, न्यूजिल्याण्डका मार्टिन गुप्टिल, क्यानाडाका निकोलस किर्टोन, स्कटल्याण्डका क्रिस सोल र अफगानिस्तानका इस्मत अलामलाई पनि अनुबन्ध गरेको छ ।
त्यसैगरी, चितवनको प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्वप्रशिक्षक उमेश पटवाल छन् । यो टिमका मार्की खेलाडी कुशल मल्ल छन् । चितवनमा कुशल मल्लसहित शरद भेसावकर, कमलसिंह ऐरी, दीपक बोहोरा, रिजन ढकाल, सन्तोष कार्की, गौतम केसी, रन्जित कुमार रहेका छन् । त्यस्तै, चितवनमा विपिन रावल, अमर रौतेला, दीपेश श्रेष्ठ पनि आबद्ध छन् ।
यो टिमले विदेशी खेलाडीमा इङ्ग्ल्याण्डका रवि बोपारा, दक्षिण अफ्रिकाका मर्चेन्ट डे लाङ, अफगानिस्तानका हसन इसाखेल र नामिबियाका जेन निकोल लोफ्टी इटनलाई अनुबन्ध गरेको छ ।
जनकपुर बोल्ट्सका प्रमुख प्रशिक्षक राष्ट्रिय टिमका पूर्वप्रशिक्षक पुबुदु दासानायके रहेका छन् । यो टिमका मार्की खेलाडीमा आशिफ शेख रहेका छन् । जनकपुरमा आशिफसहित हेमन्त धामी, सुवाश कंसाकार, किशोर महतो, शेर मल्ल, ललीत राजवंशी, रुपेश सिंह पनि रहेका छन् ।
त्यस्तै, जनकपुरमा अनिल साह, तुल थापा, आकाश त्रिपाठी र अरनिको यादव पनि आबद्ध छन् । जनकपुरले विदेशी खेलाडीमा न्यूजिल्याण्डका जिम्मी निसम, अमेरिकाका जोशुवा ट्रोम्प, पाकिस्तानका शोएब मकशुद, अमेरिकाकै मोहम्मद मोशिन र श्रीलंकाका लहिरु मिलान्थालाई अनुबन्ध गरेको छ ।
कणाली याक्सका प्रमुख प्रशिक्षकमा भने पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् । यो टिमको मार्की खेलाडीका रुपमा सोमपाल कामी रहेका छन् । सोमपालबाहेक यो टिममा मौसम ढकाल, दीपेन्द्र रावत, दीपक डुम्रे, देव खनाल, रित गौतम, अर्जुन घर्ती, गुल्शन झा, भुवन कार्की पनि रहेका छन् । कर्णालीमा उनिश सिंह, नन्दन यादव, विपिनप्रसाद शर्मा पनि रहेका छन् ।
भारतीय विष्फोटक ब्याटर शिखर धवनलाई अनुबन्ध गरेसँगै यो टिमको चर्चा चुलएको छ । कर्णालीमा विदेशी खेलाडीका रुपमा शिखरसँगै पाकिस्तानका हुसैन तलात, हङकङका बबर हयात र वेस्ट इण्डिजका चाडविक वाल्टन पनि अनुबन्धित छन् ।
यता काठमाडौँ गोर्खाजको प्रमुख प्रशिक्षक भने वसन्त शाही छन् । यो टिमको मार्की खेलाडीका रुपमा करण केसी रहेका छन् । टिममा करणसँगै साहब आलम, दीपेश कँडेल, कृष्ण कार्की, रशिद खान, बिबेक केसी, सुमित महर्जन शंकर राना, राजु रिजाल पनि अटाएका छन् ।
त्यस्तै, भीम सार्की, प्रतिक श्रेष्ठ र कृश कार्की पनि यो टिममा सहभागी छन् । विदेशी खेलाडीका रुपमा काठमाडौँमा नामिबियाका गेरहार्ड एरास्मस, नेदरल्याण्ड्सका माइकल लेभिट, अफगानिस्तानका स्टेफन एस्केनाजी, इङ्ग्ल्याण्डका डान डाउथवाइट र इङ्ग्ल्याण्डकै नाथन साउटर पनि अनुबन्धित छन् ।
लुम्बिनीमा भने भारतीय प्रशिक्षक नन्दन फडनिस प्रशिक्षकको जिम्मेवारीमा रहेका छन् । यो टिममा मार्की खेलाडीका रुपमा कप्तान रोहित पौडेल रहेका छन् । टिममा रोहितसँगै सूर्य तामाङ, विकास आगरी, दिनेश अधिकारी, अविनाश गौतम, आशुतोष घिरैया, सन्दीप जोरा, दुर्गेश गुप्ता, तिलकराज भण्डारी पनि रहेका छन् ।
त्यस्तै, अर्जुन साउद, विवेक यादव र आरिफ खानले पनि टिममा स्थान बनाएका छन् । विदेशी खेलाडीका रुपमा लुम्बिनीले अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द, इङ्ग्ल्याण्डका टोम मुरस र वेस्ट इण्डिजका रामोन सिमण्ड्सलाई पनि अनुबन्ध गरेको छ ।
पोखरा एभेन्जर्सका प्रमुख प्रशिक्षकमा भारतका राजिव कुमार रहेका छन् । यो टिमका मार्की खेलाडी कुशल भुर्तेल रहेका छन् । पोखरामा कुशल भुर्तेलसँगै आकाश चन्द, त्रितराज दास, सागर ढकाल, सुनम गौतम, अमृत गुरुङ, नारायण जोशी, दिनेश खरेल, विपिन खत्री रहेका छन् । त्यसैगरी, यो टिममा दिलिप नाथ, किरण ठगुन्ना, सुदिप अर्याल पनि रहेका छन् ।
पोखराले विदेशी खेलाडीका रुपमा अमेरिकाका आन्द्रियास गोउस, नेदरल्याण्ड्सका बस डेलिड, इङ्ग्ल्याण्डका म्याट क्रिच्ली, वेस्ट इण्डिजका रायमण्ड रेइफर र स्कटल्याण्डका माइकल लिएस्कलाई अनुबन्ध गरेको छ ।
त्यसैगरी, सुदूरपश्चिम रोयल्सका प्रशिक्षकका रुपमा जगत टमटा रहेका छन् । टिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी रहेका छन् । टिममा दीपेन्द्रसँगै विनोद भण्डारी, भोजराज भट्ट, अविनाश बोहोरा, खडक बोहोरा, नरेश बुढाऐर रहेका छन् । त्यसैगरी, सुदूरपश्चिममा अर्जुन कुमाल, इशान पाण्डे, नरेन साउद, आरिफ शेख र अमित श्रेष्ठ पनि रहेका छन् । सुदूरपश्चिमले विदेशी खेलाडीका रुपमा स्कटल्याण्डका ब्राण्डन मकमुलन, इङ्ग्ल्याण्डका सैफ जैब, न्यूजिल्याण्डका स्कट कुग्गेलेजिन र यूएईका रोहन मुस्तफा रहेका छन् ।