काठमाडौं, २१ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ३ रनले पराजित गर्दै प्रतियोगिताको समापन गरेका छन्।
आइतबार टीयु क्रिकेट मैदानमा कर्णालीले टस हारेर ब्याटिङ गर्दा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो। कर्णालीका ओपनर इम्रान शेखले ३३ रनको योगदान दिए।
१३० रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स २० ओभरमा ७ विकेट गुमाएर १२६ रनमै रोकियो। टिमका लागि सञ्जय कृष्ण मूर्तिले ५१ रन बनाएपछि पनि टोलीलाई जित दिलाउन सफल भएनन्। कर्णालीका विलियम बोसिष्टोले उत्कृष्ट बलिङ गरेका थिए र २ विकेट लिए।
यो जितसँगै कर्णाली याक्सले २ जित र ५ हारसहित लिग तालिकाको छैटौँ स्थानमा रहँदै प्रतियोगिता टुंग्यायो। साबिकको विजेता जनकपुर बोल्ट्स भने एक मात्र खेल जितेर अंकतालिकाको पुछारमा रहँदै बाहिरिएको छ।







