काठमाडौं, १६ मंसिर । साविक विजेता जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौँ खेलमा आएर पहिलो जित दर्ता गरेको छ। मङ्गलबार चितवन राइनोजलाई ६ विकेटले हराउँदै जनकपुरले जारी सिजनमा पहिलो जितको स्वाद चाख्न सफल भयो। यससँगै जनकपुरले अंक तालिकामा खाता पनि खोलेको छ।
लगातार चार खेलमा पराजित हुँदै दबाबमा रहेको जनकपुरका लागि यो जित प्लेअफ सम्भावना जोगाइराख्ने महत्वपूर्ण नतिजा बनेको छ। अब जनकपुरले लिग चरणमा लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ। प्लेअफमा पुग्न जनकपुरले दुवै खेल जित्नुका साथै अन्य नतिजामा पनि भर पर्नुपर्नेछ।
जनकपुरले यसअघिका चारै खेलमा हार ब्यहोरेको थियो—पहिलो खेलमा काठमाडौँ गोर्खाजसँग पाँच विकेटले, दोस्रो खेलमा विराटनगर किंग्ससँग नौ रनले, तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रनले र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजय भएको थियो।
उता, जनकपुरसँगको हारपछि चितवन राइनोजको प्लेअफ यात्रा चुनौतीपूर्ण बनेको छ। मिश्रित प्रदर्शन गरिरहेको चितवनले अब बलियो मानिने सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। प्लेअफ सम्भावना टिकाइराख्न चितवनले दुवै खेल जित्नै पर्ने छ।
चितवनले लिग चरणमा पाँच खेलमध्ये दुई खेलमा जित र तीन खेलमा हार व्यहोरेर चार अंक जोडेको छ। चितवनले कर्णाली याक्सलाई चार विकेटले र विराटनगरलाई ४८ रनले हराएको थियो भने लुम्बिनी, काठमाडौँ र जनकपुरविरुद्ध पराजय भोगेको थियो।





