काठमाडौं, १९ मंसिर । टियू क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स एकअर्कासँग भिड्दै छन्।
जारी लिगमा ६ खेलबाट ६ अंक जोडेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण छ। लुम्बिनीले प्लेअफमा स्थान सुरक्षित गर्न अनिवार्य रूपमा जित निकाल्नै पर्ने दबाब रहेको छ। लुम्बिनी आज विजयी भएमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स सबैको प्लेअफ यात्रा अन्त्य हुनेछ।
उता जनकपुर बोल्ट्सले भने हालसम्म ५ खेलबाट २ अंक मात्र जोडेको छ। प्लेअफदेखि टाढा भए पनि जनकपुरका लागि प्रतिष्ठा जोगाउने उद्देश्यले आजको खेल महत्त्वपूर्ण रहनेछ।
लुम्बिनीका खेलाडीहरू आत्मविश्वासका साथ मैदान उत्रने तयारीमा छन् भने जनकपुरले अप्रत्याशित नतिजा निकाल्दै लिगमा सनसनी मच्चाउने लक्ष्य तय गरेको छ।
आजको खेलले प्लेअफको समीकरणमा ठूलो प्रभाव पार्ने भएकाले दुवै टोलीबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।





