Logo

एनपीएल सिजन–२ : विराटनगरलाई भारी हार चखाउँदै सुदूरपश्चिम फाइनल प्रवेश



काठमाडौं, २३ मंसिर । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को फाइनलमा प्रवेश गरेको छ। मङ्गलवार कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगर किङ्सलाई ७७ रनको विशाल अन्तरले पराजित गर्दै लगातार दोस्रो वर्ष फाइनल यात्रा दोहोर्‍याएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाएर १५५ रनको प्रतिस्पर्धात्मक स्कोर बनायो। टोलीका ओपनर विनोद भण्डारीले ५२ बलमा ६३ रन बनाउँदै पारीको आधार तयार गरे। शेल्डन ज्याकसन र आरिफ शेखले २०–२० रन जोडे भने इशान पाण्डेले १३ रन बनाए।

१ सय ५६ रनको लक्ष्य पछ्याउन उत्रिएको विराटनगर १४.१ ओभरमै ७८ रनमा समेटियो। ओपनर फाफ डु प्लेसिसको ३६ रन बाहेक अन्य व्याटरले खासै योगदान दिन नसक्दा विराटनगरको पारी धराशायी भयो।

सुदूरपश्चिमका बलर हर्मित सिंह, अभिनास बोहरा र स्कट कुगेइलेनले २–२ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीले १–१ विकेट झारे। विराटनगरका लागि मार्चन्ट डि लिङ र प्रतिश जिसीले दुई–दुई विकेट हात पारे।

यो जितसँगै सुदूरपश्चिमले लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको छ। पहिलो सिजनमा सुदूरपश्चिम उपाधि भिडन्तमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।

अब सुदूरपश्चिमले उपाधिका लागि शनिवार फाइनल खेल्नेछ। पराजित विराटनगर किङ्सले दोस्रो क्वालिफायरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्