काठमाडौँ, २० मंसिर । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई ७३ रनले हरायो ।
जितका लागि एक सय ६८ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५.५ ओभरमा सबै विकेटको क्षतिमा ९४ रनमा समेटियो ।
काठमाडौँका लागि स्टेफल स्किनाजीले सर्वाधिक ३७ रन बनाउनुभयो । यस्तै सुमित महर्जनले १४, भिम सार्की र जेरार्ड इरासमसले १०/१० रन बनाउनुभयो ।
काठमाडौँलाई सस्तैमा समेट्न बलिङमा सुदूरपश्चिमका नरेन साउदले पाँच विकेट लिनुभयो । अविनाश बोहराले दुई तथा ब्रान्डन म्याकमुलन र सईफ जैफले एक एक विकेट झार्नुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलनले ५३ रनको अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ३६ बलमा तीन चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४३, ओपनर बिनोद भण्डारीले ३५ र सईफ जैफले ११ रन बनाउनुभयो ।
बलिङमा काठमाडौँका रसिद खानले दुई विकेट लिनुभयो । साहब आलम, जेरार्ड इरसमस र करण केसीले एक एक विकेट लिनुभयो । दोस्रो खेल खेलेको सुदूरुपश्चिम लगातार दोस्रोे जित हो ।
सुदूरुपश्चिमले पहिलो खेलमा विराटनगर किङ्ग्सलाई ९० रनले हराएको थियो । यता तेस्रो खेल खेलेको काठमाडौँको यो दोस्रो हार हो । यसअघि बिहान भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई सात विकेटले हराएको थियो ।