Logo

एनपीएल–२ : पोखरा एभेन्जर्सको अन्तिम खेलमा सान्त्वना जित, चितवन राइनोज ८ विकेटले पराजित



काठमाडौं, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा पोखरा एभेन्जर्सले आफ्नो अन्तिम खेलमा सान्त्वना जित निकाल्दै अभियान समाप्त गरेको छ। प्लेअफ प्रतिस्पर्धाबाट पहिल्यै बाहिरिसकेको पोखराले टीयु क्रिकेट मैदानमा आइतबार चितवन राइनोजलाई ८ विकेटले पराजित गर्यो।

चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमै २ विकेट गुमाएर सहज रूपमा पूरा गर्यो। पोखराका लागि एडम वासिंटन उत्कृष्ट फर्ममा रहे। उनले ४८ बलमै ४ चौका र ५ छक्का प्रहार गर्दै अविजित ६५ रनको धुन्धामार पारी खेले। वासिंटनले अर्जुन कुमालसँग पहिलो विकेटका लागि सय रनको महत्वपूर्ण साझेदारी गरेका थिए। अर्जुन कुमाल ४३ रनमा अविजित रहे। कप्तान कुशल भुर्तेल ४ रनमा आउट भए भने जेशन रोय ६ रनमा अविजित रहे। चितवनका सैफ जैइव र रिजन ढकालले एक–एक विकेट लिए।

यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२० रनको मध्यम स्कोर तयार पारेको थियो। चितवनका लागि देव खनालले सर्वाधिक ३५ रन जोडे भने अल्पेश रामजानीले ३३ रन बनाए। कप्तान कुशल मल्ल २३ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। कमलसिंह ऐरी २ रनमा अविजित रहे।

बलिङतर्फ पोखराका धनन्जय लक्षन चम्किए। उनले ३ विकेट लिए भने विपिन खत्री, रोहित चन्द तथा किरण ठगुन्नाले एक–एक विकेट हात पारे।

अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पोखरा एभेन्जर्सले प्रतियोगितालाई सकारात्मक नोटमा समाप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्