Logo

एनपीएल: विराटनगर किंग्स क्वालिफायरमा प्रवेश, सुदूरपश्चिम रोयल्स छ विकेटले पराजित



काठमाडौं, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा सुदूरपश्चिम रोयल्समाथि शानदार जित निकाल्दै विराटनगर किंग्स क्वालिफायरमा प्रवेश गरेको छ। शनिबार टीयु क्रिकेट मैदानमा भएको खेलमा अपराजित रहेको सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य विराटनगरले ११ ओभर ५ बलमै ४ विकेट गुमाएर पूरा गरेको हो।

रनरेटमा चितवनलाई पछि पार्दै विराटनगर दोस्रो स्थानमा उक्लिएको छ र पहिलो क्वालिफायर खेल्ने पक्का गरेको छ। यससँगै सुदूरपश्चिमले प्रतियोगिताको पहिलो हार ब्यहोर्नुपरेको छ।

विराटनगरका ओपनरहरूको प्रदर्शन उत्कृष्ट रह्यो। फाफ डु प्लेसिसले २० बलमा ५० रनको धुआँधार पारी खेले भने साम हिटलेजले २७ बलमा ५० रन प्रहार गरे। मार्टिन गप्टिलले २२ रन, बसिर अहमदले ८ रन योगदान दिए। अन्त्यतिर लोकेश बम ३ र प्रतिश जिसी १३ रनमा अविजित रहे। सुदूरपश्चिमका अभिनास बोहराले २ तथा हर्मित सिंहले १ विकेट लिए।

यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १४७ रनको चुनौती पेश गरेको थियो। टोलीका आरिफ शेखले अविजित ४५ रन बनाए भने इसान पाण्डेले ३८, जोश ब्राउनले २४, दीपेन्द्रसिंह ऐरीले १९ रन बनाएका थिए।

बलिङतर्फ विराटनगरका कप्तान सन्दीप लामिछाने चम्किए। उनले ३ विकेट लिए। प्रतिश जिसीले २ तथा बसिर अहमदले १ विकेट लिए।

विराटनगरको यो जितपछि एनपीएलको शीर्ष चारको प्रतिस्पर्धा झनै रोमाञ्चक बनेको छ।

प्रतिक्रिया दिनुहोस्