काठमाडौँ, २२ मंसिर । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले एनसेल खरिद-बिक्री प्रकरणमा राज्यलाई ठूलो आर्थिक घाटा हुनेगरी चलखेल भएको दाबी गरेका छन् ।
शुक्रबार राजधानीमा आयोजित पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाको प्रशिक्षण कार्यक्रममा पुनले एनसेल प्रकरणबारे बोलेका हुन् ।
सरकारद्वारा गठिन उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेकाले सबै विषय अहिल्यै बाहिर ल्याउने नमिल्ने भन्दै उनले बदमाशी पुष्टि हुने आधार सरकारसँग रहेको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाएको भन्दै तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न कोही पनि दोषी नउम्कने गरी कारबाही गरिने जनाएका थिए ।
‘सञ्चार माध्यममार्फत एनसेल प्रकरण सार्वजनिक हुँदा प्रधानमन्त्री कोप-२८ को सिलसिलामा देशबाहिर हुनुहुन्थ्यो । आउने बित्तिकै सत्तारुढ गठबन्धनका शीर्ष नेताो बैठक बोलाएर छानबिन गर्नेमा सहमत गराउनुभयो । भोलिपल्टै मन्त्तिपरिषदले उच्चस्तरीय समिति बनाएर छानबिन अघि बढाएको छ’, उनले भने, ‘यो तहको राज्यविरुद्धको अपराध र ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन । सिंगो पार्टी र जनता माफियाकरणविरुद्धको अभियानमा सरकारको साथमा छ ।’







