काठमाण्डौ, ८ माघ । एन्फा महिला लिग फुटबलमा आज बाग्मती युथ क्लब र स्याङजाको वालिङ नगरपालिका खेल्दैछन् । खेल दिउँसो ३ बजे सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा शुरू हुनेछ ।
पाँच टोली रहेको लिगमा ७ खेलमा चार अङ्कसहित बाग्मती चौथो र ७ खेलमा अङ्कविहिन वालिङ पाँचौँ स्थानमा छ । हिजो भएको खेलमा लिगको शीर्ष टोली एपीएफले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–० गोलले हराएको थियो ।
पहिलो क्वालिफायरमा पुगिसकेको एपीएफको २१ अङ्क छ । प्ले अफमा पुगिसकेको तेस्रो स्थानको पुलिसको ११ अङ्क छ । लिगमा १६ अङ्कसहित त्रिभुवन आर्मी दोस्रो स्थानमा छ ।