Logo

एपिएफ झापा गोल्डकपको सेमिफाइनलमा



बिर्तामोड, २१ फागुन । टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ ।

एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागमती युथ क्लबलाई ४-३ गोल अन्तरले हराउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो ।

एपिएफका तर्फबाट सुमन श्रेष्ठ, फोडे फोफोना, कुलदिप कार्की र प्रदिप लामाले गोल गर्न सफल भए । बागमतीका अभि लामा, विमल घिसिङ र दिवस लिम्बूले गोल गरे भने निर्मल घिसिङ र अनिल राना मगरको प्रहार एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठले विफल बनाएका थिए ।

खेल अवधिभर गोल गर्ने थुप्रै अवसर बनाएका दुवै टिमले निर्धारित समयमा गोल गर्न नसक्दा खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।

खेलको प्लेयर अफ द म्याच एपिएफ फुटबल क्लबका गोलरक्षक एञ्जल श्रेष्ठ घोषित भए । उनले ११ हजार रुपैयाँ नगद पुरस्कार पाए । पहिलो चरणको खेलमा पनि श्रेष्ठ प्लेयर अफ द म्याच भएका थिए ।

मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल एनआरटी फुटबल क्लब काठमाडौँ र चर्च ब्वाइज युनाइटेड काठमाडौँबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्