काठमाडौँ, ६ चैत । रोमेलु लुकाकुले जारी सिजन १२औं गोल गरेको खेलमा चेल्सीले शनिबार राति च्याम्पियनसिपको क्लब मिडल्सब्रोलाई २–० ले हराउँदै एफए कपको अन्तिम चारमा स्थान बनाएको छ । यससँगै अप्रत्यासित नतिजा निकाल्न सफल मिडल्सब्रोको एफए कप यात्रा पनि टुंगिएको छ । मिडल्सब्रोले यसअघि प्रिमियर लिगका क्लब म्यानचेस्टर युनाइटेड र टोटनहमलाई हराउँदै क्वार्टरफाइनलसम्को यात्रा तय गरेको थियो ।
मिडल्सब्रोको रिभरसाइड रंगशालामा लुकाकुले १५औं मिनेटमा गरेको गोलबाट चेल्सीले अग्रता लिएको थियो । ३१औं मिनेटमा हाकिम जियाचले चेल्सीको अग्रता दोब्बर बनाए । त्यही दुई गोल चेल्सीलाई सेमिफाइनल पुर्याउन पर्याप्त बन्यो । चेल्सीको दुबै गोलमा मासन माउन्टले अवसर सिर्जना गरिदिएका थिए ।
रुसका धनाड्य रोमन अब्राहिमोभिचले लन्डन क्लब बेन्चे घोषणा गरेपछि चेल्सीको यो लगातार छैटौं जित हो । रुसले युक्रेनमाथि आक्रमण गरेपछि बेलायत सरकारले अब्राहिमोभिचमाथि प्रतिबन्ध लगाइदिएको छ । रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनलाई सहयोग गरेको भन्दै बेलायती सरकारले अब्राहिमोभिचलाई प्रतिबन्धसँगै उनको सम्पत्ति ‘फ्रीज’ गरिदिएको छ । चेल्सीको स्वामित्व लिनका लागि ‘बिड’ गर्ने समयसीमा शुक्रबार सकिएको छ । यससँगै १९ वर्षसम्म चेल्सीमाथि अब्राहिमोभिचको स्वामित्व समाप्त हुने संघारमा छ ।
चेल्सीले बुधबार राति मात्र फ्रेन्च लिग वानको क्लब लिलमाथि समग्रमा ४–१ को नतिजा निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको थियो । साविक विजेता चेल्सीले अब च्याम्पियन्स लिगको सेमिफाइनलका लागि स्पेनिस महारथी रियाल मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ ।
एफए कपको बाँकी क्वार्टरफाइनल खेलमा साउथह्याम्पटनले म्यानचेस्टर सिटीसँग, क्रिष्टल प्यालेसले एभर्टनसँग र लिभरपुलले नटिङ्घम फरेष्टसँग प्रतिस्पर्धा गर्नेछ । नटिङ्घम फरेष्टले यसअघि साविक विजेता लेस्टर सिटी र आर्सनललाई हराएको थियो ।