सुर्खेत, १४ भदौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) जनताको हितमा नरहेको बताएका छन् ।
समाजवादी मोर्चाले कर्णालीको सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै विप्लवले यसको विरुद्धमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लड्ने विश्वास व्यक्त गरेका हुन् ।
‘एमसिसी जनताको हितमा छैन । यसविरुद्ध प्रचण्ड लड्नुहुन्छ भन्ने विश्वास छ । अर्को खराब मान्छे आउनेवित्तिकै अनेक चलखेल हुन सक्छ ।’ विप्लवले भने, ‘अनुदान हो भने ठिक छ तर त्यसका नाममा हस्तक्षेप, नियन्त्रण र उपनिवेशवाद स्विकार गर्न सकिन्न । नेपाल कुनै पनि सैन्य मोर्चामा जान सक्दैन ।’
विप्लवले समाजवादी मोर्चा क्रान्तिको प्रतिक भएको पनि दाबी गरे । राष्ट्रहित र प्राप्त उपलब्धीको रक्षाका लागि मोर्चा एकढिक्का रहेको उनको भनाइ छ ।
‘अरु कुरामा हामी चार दलबीच फरक मत हुन सक्छ’, विप्लवले भने, ‘क्रान्तिद्वारा प्राप्त उपलब्धी रक्षा गर्ने दायित्व र देशलाई युक्रेन बनाउन चाहने तत्वहरु, कहिले पनि कसैको अधिनमा नरहेको नेपाललाई उपनिवेशन बनाउन चाहने साम्राज्यवादी तत्वहरुविरुद्ध हामी लड्छौं, एकढिक्का छौं ।’







