काठमाडौँ, १९ असोज । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस पी अलब्राइटले यही हप्ता नेपालको भ्रमण गरिन् । भ्रमणको दौरानमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग कार्यान्वयनबारे छलफल गरिन्।
उनका अनुसार तीनै शीर्ष नेताले कार्यान्वयनमा ठूलो सहयोग गर्ने पूर्ण आश्वासन दिएका छन् । ओली र देउवा एमसीसी पूर्ण कार्यान्वयनमा पक्षमा छन् । तर, सरकारको बागडोर सम्हालेका दाहालप्रति भने अमेरिका अझै विश्वस्त देखिँदैन । किनकि, एमसीसीका सबालमा दाहाल आफैंले बेलाबेलामा सार्वजनिक रूपमा प्रश्न उठाउने गरेका छन् ।
त्यसमाथि उनको पार्टी नेकपा (माओवादी केन्द्र) मा एमसीसीप्रति त्यति सकारात्मक माहोल छैन । माओवादी उच्च नेता र कार्यकर्ताले यसलाई हिन्द महासागर रणनीतिको अंगको रूपमा लिन्छन् र एमसीसीको विरोध गरिरहेका छन् ।
माओवादी पार्टीबाटै छुट्टिएर गएका विभिन्न साना वामपन्थी दलहरूले अहिले पनि एमसीसीको विरोधमा स–साना कार्यक्रमहरू गरिरहेका छन् । त्यसैगरी माधवकुमार नेपालले नेतृत्व गरेको सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) भित्र पनि एमसीसीका सम्बन्धमा असन्तुष्टिहरू कायम छन् ।
त्यसैगरी उनीहरूको सबाल एमसीसी पास गर्दा संसद्बाट पारित भएको व्याख्यात्मक टिप्पणीप्रति अमेरिकी धारणा माग गरिरहेका छन् । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत अलब्राइटले भने त्यसलाई आफूहरूले पूर्ण रूपमा स्वीकार गरेको बताएकी छन् । आजकोे अन्नपूर्ण पोस्टमा समाचार छ ।






