Logo

एमसीसी अघि बढ्ने संकेत, सन् २०२६ का लागि गरियो बजेट प्रस्ताव



काठमाडौं, २९ जेठ । अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले सन् २०२६ को लागि बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ । योसँगै अमेरीका सरकारले गत जनवरीमा स्थगित गर्ने निर्णय गरेको परियोजना फेरि अघि बढ्ने संकेत देखिएको हो ।

एमसीसीले आफ्नो वेबसाइटमा राखेको पछिल्लो विवरण अनुसार सन् २०२६ का लागि कुल २२ करोड ४० लाख अमेरिकी डलर बजेट विनियोजन गर्न प्रस्ताव गरेको छ । यद्यपि, एमसीसीले यसअघिको बजेटको तुलनामा भने यसपालि ठूलो मात्रामा कटौती गरेको देखिएको छ । बजेट प्रस्ताव घटेसँगै नेपाललगायत देशको कार्यक्रम प्रभावित हुने देखिएको छ ।

सन् २०२५ मा एमसीसीका लागि ९३ करोड़ अमेरिकी डलर बजेट विनियोजन गरिएको थियो । आगामी वर्षका लागि प्रस्ताव गरिएको बजेटमध्ये आधाभन्दा बढ़ी प्रशासनिक खर्चका लागि छुट्याइएको छ । यी शीर्षकमा १२८ मिलियन डलर छुट्याइएको एमसीसीद्वारा गत मेमा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, कम्प्याक्ट डेभलपमेन्ट ओभरसाइट शीर्षकमा ९१.५ मिलियन डलर र इन्सपेक्टर जनरलको कार्यालयका लागि ४.५ मिलियन डलर विनियोजनको प्रस्ताव गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा पदभार ग्रहण गरेपछि (गत जनवरी २० मा) एमसीसी परियोजना ९० दिनका लागि स्थगित गर्ने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्