काठमाडौँ, ३१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधि सभाको मङ्गलवारको बैठक स्थगित गरिएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा बाहिरी मानिसले राजस्वको दर हेरफेर गरेको आरोपबारे छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै एमालेले संसद् बैठक अवरोध गरेको हो ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन् । त्यसपछि एमालेका सांसदहरू आफ्नो ठाउँबाट उठेर संसदमा अवरोध गरे । एमालेका सांसदहरूले अर्थमन्त्री शर्माको राजीनामा पनि मागेका छन् ।
एमाले सांसदहरूले उठेर विरोध गरिरहेपछि सभामुख अग्निप्रसाद सापकोटाले बुधवार बिहान ११ बजेसम्मका लागि संसद् बैठक स्थगित गरेका हुन् ।







