Logo

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित



काठमाडौँ, २४ साउन । प्रतिनिधिसभाको बुधबारका लागि बोलाइएको बैठक पनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका कारण बैठक स्थगन भएको हो ।

बैठक सञ्चालनमा एमालेले अवरोध गरेपछि सभामुख देवराज घिमिरले आजका कार्यसूचीमा भएका सबै विषय हटाउँदै शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिए ।

बुधबारको बैठकमा एमालेले क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै अवरोध गरेको हो ।

एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले बैठकको सुरुआतमै समिति गठन नभएसम्म बैठक चल्न नसक्ने बताएका थिए । उनी बोल्दा सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए । त्यसपश्चात् एमालेले वेल घेराउ गर्दै नाराबाजी गर्यो ।

यता, मंगलबारको बैठकमा यो घटनामा सरकारको तर्फबाट गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिएका थिए । तर, एमालेले जवाफमा समिति गठनको विषय नआएको भन्दै बैठक चल्न नदिने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्