Logo

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित



काठमाडौँ, २४ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ ।

प्रतिनिधिसभा बैठकमा अवरोध गरेको एमालेले राष्ट्रियसभा बैठक पनि नियमति कार्यसूचीमा प्रवेश गर्न दिएन । झण्डै डेढ घण्टा चलेको बैठकमा दलीय आधारमा सदस्यहरूले समसामयिक विषयमा धारण राखेका थिए ।

त्यसपछि नियमित कार्यसूचीमा प्रवेश गर्न खोज्दा एमाले सांसदहरूले उठेर विरोध जनाए । अध्यक्ष गणेश तिमल्सिनाले विमला घिमिरेलाई बोल्न समय दिए । उनले बोल्ने क्रममा सत्तापक्षकै सांसदले राष्ट्रियसभामा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नताबारे आशंका गरेको भनेपछि कांग्रेस सांसद रमेशजंग रायमाझीले नियमापत्ती गरेका थिए ।

तर अध्यक्ष तिमल्सिनाले उनलाई आफ्नो पालोमा बोल्न रुलिङ गरे । एमाले सांसदले बोलिसकेपछि उठेर विरोध गरेकाले उनले बोल्न पाएनन् । एमालेले अवरोध जारी राखेपछि अध्यक्ष तिमल्सिनाले बैठक साउन २६ गते बिहान ११ बजेसम्मको लागि स्थगित गरेका हुन् ।

एमालेले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० बाट संघीय संसदका दुवै सदन चल्न दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्