Logo

एमालेको उम्मेदवार छनोट गर्ने यस्ता छन् मापदण्ड



काठमाडौँ, १० भदौ । नेकपा (एमाले) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ ।

ललितपुरको च्यासलस्थित दोस्रो पोलिटब्युरो बैठकले आज र भोली बस्ने केन्द्रीय कमिटीको बैठकको ११ वटा एजेण्डा तय गर्दै निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने प्रक्रिया र मापदण्ड तय गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनले केन्द्रीय कमिटी बैठकमा ती उम्मेदवार छनोट गर्ने प्रक्रिया र मापदण्ड प्रस्तुत गरेर पारित गर्ने समेत बताए । “निर्वाचनको उम्मेदवार छनोट प्रक्रियाको मापदण्डका बारेमा सचिवालय, स्थायी र पोलिटब्युरो बैठकमा समेत छलफल भइसकेको छ र ती बैठकबाट पारित गरिएको छ”, उनले भने, “आजदेखि बस्ने केन्द्रीय बैठकमा आवश्यक संशोधनसहित उम्मेदवारको मापदण्ड पारित गर्छौं र चुनावको तयारीमा अगाडि बढ्छौँ ।”

प्रचार विभाग प्रमुख गुरुङले पार्टीले निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने चार वटा मापदण्ड बनाएको बताए । उनका अनुसार पहिलो पार्टी, नीति र सिद्धान्तप्रतिको प्रतिबद्धता, दोस्रो कुनै पनि नेताले पार्टीले सञ्चालन गरेको आन्दोलनमा दिएको योगदान र पार्टीप्रतिको निष्ठा, तेस्रो लोकप्रियता र विजयको सुनिश्चितता तथा चौथो मापदण्ड संविधानअनुरुप सन्तुलन, समावेशीको सिद्धान्तलाई आधार मानेर पनि उम्मेदवार चयन गरिनेछ ।

उनका अनुसार आजको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको लिखित राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ । त्यसमाथि समूहगतरूपमा छलफल भएर आवश्यक निर्णय लिने उनले बताए ।

यस्तै केन्द्रीय सदस्यमा मनोनीत चार जनालाई आज शपथ गराएर बैठकमा उपस्थिति गराइने बताइएको छ । ती चार मनोनीत केन्द्रीय सदस्यको कार्यविभाजन गर्नेसमेत एजेण्डा तय गरिएको उनले बताए ।

केही दिनअघि बसेको सचिवालय बैठकले जीवन गौतम, विजय गुप्ता, धर्मदत्त देवकोटा र अमृतलाल राजवंशीलाई केन्द्रीय कमिटीमा मनोनयन गरेको थियो । यस्तै यसभन्दाअघि पार्टी सचिवालयले गरेको निर्णयको पनि आज बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ ।

स्थानीय तह निर्वाचनमा आफ्ना उम्मेदवारलाई हराउने भूमिका खेल्नेमाथि गठित छानविन कार्यदलको प्रतिवेदन पनि बैठकमा प्रस्तुत गर्ने एजेण्डा तय गरिएको छ । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षमा स्थानीय तह निर्वाचनमा पार्टीलाई अन्तरघात गर्नेलाई कारवाही गर्नका लागि छानविन समिति गठन गरिएको थियो ।

यस्तै एमालेले पार्टी सदस्य सङ्ख्या दोहोरिएका सङ्गठित सदस्यका सम्बन्धमा विशेष निर्णय गरेर व्यवस्थापन गर्ने एजेण्डासमेत रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङले जानकारी दिए । एमालेका ५२ हजार पाँच सय ५० सङ्गठित सदस्यको नामावली दोहोरिएको छ ।

केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग रहेको प्रतिवेदन बैठकमा पेश गरिनेछ । भारत प्रवास कमिटीलाई व्यवस्थापन गर्नका लागि नियमावली बनाउनेसमेत बैठकले निर्णय गरेको छ । नियमावली केन्द्रीय कमिटी बैठकमा पेश गरेर अनुमोदन गरिनेछ ।

यस्तै पार्टीका विभिन्न निकाय, विभागका सम्बन्धमा नियम पारित गर्ने एजेण्डासमेत रहेको छ । यस्तै समसामयिक राजनीतिक एजेण्डा पास गर्ने पनि उनले बताए । उनका अनुसार स्थानीय तहमा धाँधली भएका कारण चुनाव हार्नुपरेको अध्यक्ष ओलीले बैठकमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्