जनकपुरधाम, १० असोज । मधेसवादी दलहरू आपसमा मिल्न नसक्दा ठुला पार्टीको ओत लाग्ने अवस्थामा पुगेका छन् । उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) र महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दुवै क्रमशः नेपाली कांग्रेस र नेकपा एमालेको शरणमा पुगेका छन् । लोसपाले एमालेसँग सिट बाँडफाँटका लागि वार्ता समिति बनाइसकेको छ । एमालेलाई मधेस प्रदेशमा निषेध गर्नेहरू नै निर्वाचन नजिकिएसँगै एमालेमै प्रवेश गर्न थालेका छन् ।
एमालेले मधेसमा पनि आफ्नो बलियो उपस्थिति देखाउन मधेसवादी दलका नेताहरूलाई पार्टी प्रवेश गराइरहेको छ । यसअघिका दुईवटा निर्वाचनमा एमालेलाई मधेस प्रदेशमा गम्भीर धक्का लागेपछि उसले पछिल्लो रणनीतिअनुसार मधेस प्रदेशमा ठुलो दल बन्न अन्य दलका नेता-कार्यकर्तालाई पार्टी प्रवेश गराउन थालेको हो ।
मधेसवादी दलमा लागेका तर अवसर नपाएका नेता-कार्यकर्तालाई एमालेले आफ्नो पार्टीमा भित्र्याउन थालेको छ । त्यति मात्र होइन, मधेसमा मधेसवादी र अन्य दलका निवर्तमान सांसदलाई पनि आफ्नो पार्टीमा ल्याएर त्यहाँ आफ्नो उपस्थिति बलियो बनाउन एमाले लागिपरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।







