काठमाडौँ, २१ असार । राष्ट्रियसभाको आजको बैठकमा नेकपा (एमाले) का सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।
उक्त बैठक सुरु हुनासाथ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सांसद भैरवसुन्दर श्रेष्ठलाई बोल्नका लागि अनुमति दिएका थिए ।
सांसद श्रेष्ठले केही दिन पहिलेको एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्ति राष्ट्रियहितविपरीत रहेको आरोप लगाए । उनले प्रधानमन्त्रीको भनाइ गलत भएको तर्क गर्दै त्यसविरुद्ध विरोध गर्ने आफ्नो संसदीय दलको निर्णय भएको बताए ।
सभाध्यक्ष तिमिल्सिनाले पटक-पटक एमालेका सांसदलाई आसन ग्रहण गर्न आग्रह गरेका थिए । तर, उनीहरुले उभिएर विरोध जनाइरहेका थिए । सभाध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोलाएर उनको धारणा सुन्ने वातावरण बनाउने र बजेटको संवेदनशीलतालाई ध्यानमा राखेर बैठक सञ्चालनका लागि आग्रह गरेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक यही असार २२ गते शुक्रबार १२:२९ बजे बस्नेछ ।







