Logo

एमालेको समानुपातिक सूचीमा तीन पुस्ताको सन्तुलन, समावेशी प्रतिनिधित्वलाई प्राथमिकता



काठमाडौं, १४ पुष । नेकपा (एमाले)ले समानुपातिक प्रतिनिधित्वतर्फका उम्मेदवार छान्दा पुरानो पुस्ताको अनुभव, नयाँ पुस्ताको नेतृत्व ऊर्जा र समावेशीतालाई एकसाथ समेट्ने प्रयास गरेको बताइएको छ। पार्टीले सार्वजनिक गरेको सूचीमा तीन पुस्ताको समायोजन स्पष्ट देखिएको छ।

अनुभवी पुस्ताबाट रामबहादुर थापा ‘बादल’, गुरु बराल, डा. पुष्प कडेललगायतका नेताहरू समावेश गरिएको छ। महिलातर्फ पद्मा अर्याल, टुका हमाल, कोमल ओली, शान्ता चौधरी, भूमिका सुब्बालगायतको सहभागिता रहेको छ।

पछाडि परेका समुदायबाट गोरख बोगटी, लालबहादुर महतारा, लालबहादुर रावलसहित आठ जना समेटिएका छन्। यसैगरी, अपाङ्गता भएका व्यक्तिहरूको समूहबाट रामबहादुर थापा र यसुदा बराललाई समानुपातिक सूचीमार्फत अवसर दिइएको एमालेले जनाएको छ।

नयाँ पुस्ताबाट निशा घतानी, क्रान्ति बुर्लाकोटी, अनिता कन्दङवाललगायत युवा अनुहार सूचिमा अटाएका छन्। दलित समुदायबाट मिना बराम, मनकुमारी तितुङ, माया देवी पौडेल, निर्मल दउला, रामपुकार दास तत्मा, सन्तबहादुर चेपाङ, इच्छा चौधरीलगायतलाई स्थान दिइएको छ। मुस्लिम समुदायबाट साजिदा सिद्दीकी र मोहम्मद हारूनको प्रतिनिधित्व गरिएको छ।

पार्टीले प्रस्तुत गरेको सूचीलाई पुस्तान्तरण, समावेशी सहभागिता र क्षेत्रीय सन्तुलनलाई एकसाथ अघि बढाउने सन्देशका रूपमा अर्थ लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्