काठमाडौँ, ६ चैत । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने आधार र कारण एमालेले नदेखेको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको छलफलमा उनले एमाले उक्त प्रस्तावको विपक्षमा उभिने विचार प्रकट गरेका हुन् ।
प्रतिनिधिसभाको निर्वाचनपछि एमाले राष्ट्रिय सहमतिका पक्षमा रहेको तर अहिले एमालेलाई मात्र एक्ल्याइएको भन्दै उपाध्यक्ष पौडेलले एमालेविनाको कस्तो राष्ट्रिय सहमति खोजिएको हो भनी जिज्ञासा राखेका थिए ।
उपाध्यक्ष पौडेलले भने, “राष्ट्रिय सहमतिका नाममा एमालेलाई एक्लो बनाउने, किनारा गराउने, शत्रुता र कटुताको परिस्थिति निम्त्याएर राष्ट्रलाई द्वन्द्वतर्फ धकेल्ने काम गरिएको छ ।” उनले स्थिरताका नाममा अहिले भइरहेका अभ्यासले राजनीतिक स्थिरता होइन, अस्थिरता हुने खतरा देखिएको बताए ।
मुलुकको अर्थतन्त्रका बारेमा प्रधानमन्त्रीले राखेको अभिव्यक्तिबीच मेल नखाएको बताउँदै पूर्वअर्थमन्त्री पौडेलले विभिन्न कारणबाट मात्रै विदेशी मुद्राको सञ्चित सकारात्मक हुन पुगेको दाबी गरेका छन् ।







